हेटौंडाका घरधनीलाई भाडा घटाउन अपिल
हेटौंडा- नेपाल घर बहाल उपभोक्ता संघ मकवानपुरले आर्थिक मन्दीले व्यवसायहरु चौपट बनेको भन्दै घरभाडा घटाइदिन अपिल गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक मन्दीका कारण व्यवसायमा परेको समस्यालाई मध्यनजर गर्दै व्यवसायिक घरभाडा घटाइदिएर सहयोग गरिदिन धरधनीहरुलाई अपिल गरेको हो । संघका अध्यक्ष समिरलाल डंगोलले घरधनीहरुले भाडा घटाइदिएर व्यवसायीहरुलाई सहयोग गर्नुपर्ने धारणा राखे । आर्थिक मन्दीका कारण व्यवसायीहरु डुब्ने खतरामा रहेको जनाइएको छ । डंगोलले घरधनी रहे व्यवसायी रहने र व्यवसाय रहेमा घरधनी रहने भन्दै समस्यामा हातेमालो गर्न आग्रह गरेका हुन् ।
उनले घरधनीहरुले व्यवसायीहरुलाई पारेको समस्याका बारेमा पनि आवाज उठाए । घर बहाल कर घरधनीले नै तिर्नुपर्नेमा व्यवसायीहरुलाई तिर्न लगाइएको अध्यक्ष डंगोलले गुनासो गरे । व्यवसायीहरुसँग निश्चित घरभाडा लिएर पनि ९९ प्रतिशत घरधनीहरुले व्यवसायीलाई नै घर बहाल कर तिर्न लगाएको उनको आरोप छ । व्यवसायीहरुले घरधनीसँग र कर तिर्ने निकाय हेटौंडा उपमहानगरपालिकासँग दुई वटा फरक–फरक भाडा राखेर सम्झौता गर्नुपर्ने बाध्यता रहेको डंगोल बताउँछन् । व्यवहारिक रुपमा ३० हजार भाडा तिर्न एउटा सम्झौता गर्नुपरेको र उपमहानगरपालिकालाई बुझाउँदा ५ हजार जति भाडा देखाएर सम्झौता गर्नुपरेको बताइएको छ ।
घरधनी र व्यवसायीहरु मिलेर राज्यको आम्दानीसमेत घटाइएको नेपाल घर बहाल उपभोक्ता महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने बताउँछन् । न्यौपानेले आर्थिक मन्दीको बेलामा पनि घरधनीहरुले भाडा बृद्धि गरिरहेको बताए । संगठित रुपमा व्यापार व्यवसाय गर्नुभन्दा व्यक्तिगत रुपमा व्यवसाय सञ्चालन गरिरहेकालाई घरधनीहरुले भाडा बढाएको न्यौपानेले बताए । उनले व्यवसायीहरु व्यापार नभएका कारण भाडा तिर्नसमेत नसक्ने स्थितिमा पुगेको बताए । सरकारको असमान कर प्रणालीकै कारण नागरिकलाई कर छल्न बाध्य बनाइएको उनको आरोप छ । न्यौपानेले २ प्रतिशत घर बहाल कर कायम हुनुपर्नेमा जोड दिए ।







