भारतबाट मकवानपुरकी २३ वर्षीया युवतीको उद्दार
हेटौंडा- भारतको आसामस्थित एक वेश्यालयबाट माइती नेपालले २३ वर्षीय युवतीलाई उद्दार गरेर हेटौंडा ल्याएको छ ।२०७४ सालमा काभ्रेका मिलन तामाङले मकवानपुरकी एक युवतीलाई जागिर खुवाउँछु भनेर भारतको दिल्ली लगेर आसामको वेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । ती युवतीलाई माइती नेपाल दिल्लीका सुपरभाइजर सन्तोष सेढाई, माइती नेपाल मकवानपुरकी माया लामा र उनकी आमासहित आसामस्थित कोठीमा गएर विहीबार उद्दार गरेका हुन् । भारतीय प्रहरीको सहयोगमा वेश्यालयमा छापा मारेर युवतीलाई उद्दार गरेर ल्याएको माइती नेपाल मकवानपुरकी प्रमुख लामाले बताइन् ।
फेसबुकमार्फत् चिनजान भएका तामाङसँग काठमाडौंमा भेटेर उनीहरु जागिर खानका लागि दिल्ली गएका थिए । दुई महिनासम्म उनलाई दिल्लीको एउटा कोठामा राखिएको थियो । २ महिनापछि आसामको सिल्चरस्थित वेश्यालयमा पु¥याइएको माइती नेपालले जनाएको छ । उक्त वेश्यालयमा रहेकामध्ये एक नेपाली युवती ग्राहकको सहयोगमा ७ महिनाअघि भागेर नेपाल आउन सफल भएकी थिइन् । नेपालमा आएपछि उनले माइती नेपाललाई उक्त वेश्यालयमा मकवानपुरकी युवती पनि रहेको जानकारी दिएपछि उनको खोजी सुरु भएको हो ।
माइती नेपाल हेटौंडाले उनको घर परिवार फेला पारेपछि आमासहित माया लामा र दिल्लीस्थित माइती नेपालका सुपरभाइजर सेढाई आसामस्थित वेश्यालयमा नै पुगेका थिए । उनलाई उद्दार गरेर ल्याएर युवतीलाई माइती नेपाल हेटौंडामा राखिएको छ । सात दिदीबहिनीमध्ये युवती माइली हुन् ।
तीन कक्षासम्म अध्ययन गरेकी ती युवती अहिले हिन्दी भाषा पनि राम्रोसँग बोल्न जान्ने भएकी छन् ।वेश्यालयमा पाएको पीडा सुनाउने क्रममा उनको गला अबरुद्ध भएको थियो । ‘काम लगाइदिन्छु भनेर झुक्याएर लगेर यस्तो बर्बाद गरिदियो, त्यस्ता अपराधीलाई सरकारले खोजेर कानुनी कारबाही गरोस् भन्ने उनको माग छ । उनलाई आयआर्जन गराउन, सीप सिकाउन माइती नेपाल हेटौंडाले माइती नेपाल काठमाडौंसँग सहजीकरण गर्ने भएको छ ।‘अहिले उनलाई घरमा पठाउने अवस्था छैन’, माइती नेपाल हेटौंडाकी प्रमुख लामाले भनिन्, ‘उनलाई परामर्शको पनि खाँचो छ’, माइती नेपालले केही महिनाअघि भारतको मुम्बईस्थित कोठीबाट एक युवतीलाई पनि उद्दार गरेर हेटौंडा ल्याएको थियो ।







