रेडियोको वार्षिकोत्सवमा १८ जनाद्वारा रक्तदान
हेटौंडा- बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा १८ जनाले रक्तदान गरेका छन् । रेडियोले १५ वर्ष पूरा गरि १६ वर्षमा प्रवेश गरेकोअवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको आज चौथो दिन बिहिबार भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका हुन् । जसमा ५ जना महिला र १३ जना पुरुषले रक्तदान गरेका थिए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । साताव्यापी कार्यक्रम अन्तर्गत रेडियोले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत यसअघि तेस्रो दिन बुधबार रुपचन्द्र विष्टका विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्वर्गीय रुपचन्द्र विष्टका सहकर्मीहरुले विष्टले गरेका योगदान र उनका बारेमा चर्चा गरेका थिए ।कार्यक्रमको पहिलो दिन सोमबार रेडियो परिसर सरसफाई कार्यक्रम र दोस्रो दिन मंगलवार स्रोता मिलन कार्यक्रम गरिएको थियो । यसैगरी, कार्यक्रमको पाचौं दिन भोलि ५ गते भोली ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तरत्रिया कार्यक्रम, ६ गते मकवानपुरे सञ्चारकर्मीबीच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण, थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।







