आज शिवरात्री मनाईंदै

साझाकुरा
२०७९ फाल्गुन ६, शनिबार ०८:१८

हेटौंडा- हिन्दु धर्मावलम्बीहरुको एक विषेश पर्वका रुपमा रहेको महाशिवरात्री मकवानपुरका शिवालयहरुमा आज शनिबार मनाईंदैछ ।मकवानपुरका १० वटै पालिकाहरुमा रहेको महादेवको मन्दिरमा हिन्दु धर्मावलम्बीहरुले शिवरात्री मनाउने गर्दछन् । शिवरात्रीमा श्रद्धालुहरु रातभर जाग्राम रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास सफल हुने विश्वास छ ।महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्ने गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।

आज शनिबार हेटौंडाका भुवनेश्वर हुप्रचौर, गोरक्षेश्वर राप्तीतट, विश्वम्भरेश्वर चौकीटोल, श्यामेश्वर चाइनाक्वार्टर, पाण्डुकेश्वर पालुङ, ऋषेश्वर दामन, नटारम्भेश्वर भीमफेदी मन्दिरमा पूजाआजाका लागि धर्मावलम्बीहरुको बाक्लो भीड लाग्ने गर्छ । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । त्यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि भनिन्छ । यस दिन भगवान शिवको विवाह भएको मानिन्छ ।
शिवरात्रिको दिन भगवान शिवको प्रिय दिनको रुपमा चित्रण गरिएको धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए । महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन् । भगवान शिवको पूजामा अरु विशेष सामग्रीको आवश्यक्ता नपर्ने र मात्र पानी र बेलपत्र भए पुग्ने विश्वास रही आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*