बजार अनुगमन फितलो भएको गुनासो
हेटौंडा- मकवानपुरका हेटौंडा, मनहरी लगायत व्यापारिक केन्द्रहरुमा सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएको विषयमा आवाज उठेको छ । सरकारी अनुगमन संयन्त्र सक्रिय नहुँदा जिल्लाका खाद्यान्न पसल, सुपरमार्केटहरु, होटल तथा रेष्टुरेन्टहरुमा जथाभावी गतिविधि बढेको भन्दै गुनासो आएको हो । हेटौंडामा शुक्रबार उपभोक्ता हित संरक्षण मञ्च नेपाल, मकवानपुरको आयोजनामा भएको उपभोक्ता सचेतना कार्यक्रममा उपभोक्ताहरुले सरकारी अनुगमन संयन्त्र सक्रिय नहुँदा बजार अस्तव्यस्त बनेको आरोप लगाएका हुन् । बजार अनुगमनको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रभावकारी अनुगमन गर्न नसकेको विषय
उठेको थियो ।
बजारमा अस्वाभाविक मूल्य बृद्धि भइरहँदा, अखाद्य सामग्री बिक्री वितरण भइरहेको अवस्थामा पनि सरकारी अनुगमन संयन्त्र निष्कृय बनेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका हुन् । करिब महिना दिनअघि प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौंडाको भाटभटेनीलाई गरेको कारबाहीको विषयमा भने प्रशंसा गरिएको थियो भने जरिवाना रकम थप हुनुपर्ने विषय उठेको छ । व्यवसायको प्रकृति र आर्थिक गतिविधि हेरेर जरिवाना गर्नुपर्नेमा जोड दिइएको छ । बजार क्षेत्रमा व्यापारीहरुले जाथाभावी सामग्री बिक्री वितरण गरेर मानव स्वास्थ्यमै प्रतिकूल असर पु¥याउने काम गरिरहेको भन्दै अनुगमन सक्रिय बनाउन प्रशासनलाई अपिल गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले बजार अनुगमनलाई सक्रिय बनाउनुपर्नेमा ध्यानाकर्षण भएको बताए । उनले जनशक्ति, बजेट र स्रोतसाधनको अभावले नियमित अनुगमन गर्न नसकिएको बताए । न्यौपानेले बजार अनुशासित नभएको दाबी गरे । उत्पादकसमेत अनुशासनमा नबसेको भन्दै प्रशासनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने न्यौपानेले बताए । कानुन व्यहारमा लागू हुन नसक्दा समस्या भएको उनको भनाइ छ । उनले सुधार ऐनबाट हुनुपर्नेमा जोड दिए । न्यौपानेले बजार अनुगमनमा जाँदा पानी पिउने बजेटसमेत नभएको गुनासो गरे ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले बजार अनुगमनप्रति उपमहानगर गम्भीर भएको बताए । उनले विषयगत कार्यालयहरुले बजार अनुगमनलाई जटिलताका साथ लिनुपर्नेमा जोड दिए । वडाध्यक्ष न्यौपानेले स्थानीय सरकार आएपछि सेवा प्रवाहमा प्रभावकारिता देखिएको र जनताको समस्या नजिकबाट समाधान भइरहेको बताए । उनले बजारलाई अनुशासित बनाउन उपमहानगरले जस्तोसुकै सहयोग गरेर जान चाहेको बताए । अधिवक्ता सुजन तिमल्सिनाले उपभोक्तासम्बन्धी १० वटाभन्दा बढी कानुन भएपनि कार्यान्वयनको चरणमा कमजोर
रहेको जनाएका छन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख क्षितिज श्रेष्ठले सम्पादन भएका कार्यको बारेमा जानकारी गराए । उनले खाद्य गुणस्तरीयता कायम गराउन कार्यालयले अनुगमन गरिरहेको दाबी गरे । उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष मदनप्रसाद रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघ जिल्लाका कोषाध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता तथा नगरभित्रका आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।







