प्रदेश सरकारको कामको विवरण समेटिएको पुस्तक सार्वजनिक

साझाकुरा
२०७९ फाल्गुन ६, शनिबार ०८:३०

हेटौंडा- बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्धि समेटिएको पुस्तक शुक्रबार सार्वजनिक गरेका हुन् । पुस्तकमा पाँच वर्षे अवधिभर गरिएका कामका छोटकरी विवरण समेटिएका छन् । प्रदेश सरकार स्थापना भएदेखि हालसम्मका उपलब्धिहरु पुस्तकमा समेटिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए । प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरी रुपमा समेटिएको उनको भनाइ छ । २०७४ साल माघ ३ गतेदेखि प्रदेशको अस्थायी राजधानी तोकिएदेखि हालसम्म प्रदेश सरकारले गरेका कामका विषयमा पुस्तकमा समेटिएको छ । प्रदेशका सबै मन्त्रालयले गरेका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन (संशोधनसमेत), अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ गरी जम्मा १८६ ओटा जारी भएको, प्रदेशको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समिक्षा गरिनुका साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याड्ढ उपयोग गरिएको, अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत् बागमती प्रदेशअन्तर्गत् प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी तथा कर्मचारीहरूका क्षमता विकासतर्फ हालसम्म पाँच हजार एकसय १२ जनप्रतिनिधिहरू तथा आठ हजार एकसय ७४ जना कर्मचारीहरू गरी कूल १३ हजार दुईसय ८६ जना लाभान्वित भएको, प्रदेशमा आव २०७८÷०७९ सम्ममा एकलाख ५५ हजार एकसय ७९ उद्योग दर्ता भएको, नौ वटा जिल्लामा १० शीत भण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५ हजार आठसय मेट्रिक टन फलफूल तथा तरकारी भण्डारणमा सहजता हुने, एकहजार ४१ सिंचाई योजना सम्पन्न भई एक लाख ३१ हजार तीनसय ४८ हेक्टर जमीनमा सिंचाई सुविधा उपलव्ध भएको र १६ वटा नदीहरूको नदी नियन्त्रणको गुरु योजना तयार गरी कार्य सुरु गरिएकोलगायत कामलाई पुस्तकमा समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*