पालुङ बहुमुखी क्याम्पसको अध्यक्षमा विष्णु
हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा ठूलो शैक्षिक संस्था पालुङ बहुमुखी क्याम्पसको अध्यक्षमा विष्णुबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित विष्ट थाहा नगरपालिकाको मेयरसमेत हुन् । उनी यसअघि पनि क्याम्पसको अध्यक्ष थिए । पालुङ बहुमुखी क्याम्पसको २० औं परिषद् भेलाले अध्यक्षमा थाहा नगर प्रमुख समेत रहेका विष्ट निर्विरोध भएको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । परिषद भेलाले ११ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध चयन गरेको छ । समितिको सदस्यहरुमा सहदेव ढकाल, सरोज कुमार खनाल, सगुन कुमार ढकाल, रिता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमल कुमार ढकाल, सुदर्शन कार्की र मनोज अधिकारी रहेका छन ।
समितिले उपाध्यक्ष र कोषाध्यक्ष पछि निर्वाचित गर्नेछ । निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत उमेश श्रेष्ठ र रमेशमान डंगोलले पद तथा गोपनियताको सपथ गराएका छन् । निर्वाचित संचालक समितिको पहिलो बैठक ९ फागुनमा बस्ने र बैठकले अन्य सदस्यहरु समेत मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष विष्टले जानकारी दिए । क्याम्पसको वार्षिकोत्सव तथा परिषद् भेलाको अबसरमा अध्यक्ष विष्णु विष्टले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख राजन मिश्रद्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजना प्रस्तुत गरिएको थियो ।
क्याम्पसको वार्षिकोत्सव र भेललाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले थाहा नगरको शैक्षिक विकासको धरोहरको रुपमा रहेको पालुङ बहुमुखी क्याम्पसलाई सबै मिलेर अगाडि बढाउनुपर्ने बताइन् ।
शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताउँदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानीयले क्याम्पस टिकाइरहेकोमा धन्यवाद व्यक्त गरिन् । मोक्तानले थाहा नगरबाट मन्त्रालयमा नगरको शैक्षिक व्यवस्थापनको सुधारको लागि गएको निवेदन एउटा पनि नकाटिएको विश्वास दिलाएकी छन् । पालुङ क्याम्पसलाई यसवर्ष सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सहयोग गर्न सकिने बताइन् ।वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम ब्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरिएको
छ । विषयगत उत्कृष्ट प्राध्यापक गोपाल उप्रेतीलाई अंग्रेजी विषयको लागि र १३ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेर क्याम्पसको प्रगतिको लागि खटिएकोमा पुर्वक्याम्पस प्रमुख रामहरी अधिकारीलाई पनि सम्मान प्रदान गरिएको छ । क्याम्पसले उत्कृष्ट विद्यार्थीहरु रेजिना गोपाली र रोजिता बलामी तथा क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पु¥याए बापत श्रवण लामालाई सम्मान गरिएको थियो ।







