नामटार–कालिकाटार सडक स्तरीकरण गर्न पहल
हेटौंडा- जिल्लाको पश्चिम–उत्तरी क्षेत्रको विकट कैलाश गाउँपालिका जोड्ने नामटार–कालिकाटार सडक स्तरीकरण गर्न पहल सुरु गरिएको छ । कैलाशलाई सदरमुकाम हेटौंडासँग जोड्ने उक्त सडक हालसम्म पनि जीर्ण छ । हिउदमा उक्त सडकमा सवारीसाधन सहज सञ्चालन भएता पनि वर्षायाममा बाढी, पहिरोको जोखिम हुने गरेको छ । कैलाश गाउँपालिकाको चुनियाँ नामटार हुँदै कालिकाटार सम्मको सडकको अवस्था नाजुक छ । पश्चिमी व्यापारिक केन्द्र मनहरीबाट पनि कैलाश पुग्न सकिन्छ । तर, वर्षातको समयमा मनहरी खोलाका कारण कैलाशसँगको यातायात सम्बन्ध टुट्ने गरेको हुँदा नामटार–कालिकाटार सडकलाई धेरैलाई सम्झिने गरेका छन् ।
नामटार–कालिकाटार सडकको स्तरीकरण गर्न सके १२ महिना नै सवारीसाधन आवतजावत गर्न सकिने अवस्था बन्थ्यो ।२०३७ सालमा निर्माण भएको नामटार–कालिकाटार सडक हालसम्म पनि जीर्ण हुँदा स्थानीयहरुले धेरै समस्या भोग्दै आएका छन् । उक्त सडक समयमै स्तरीय नबन्दा गाउँमा उत्पादित कृषि उपजहरुलाई बजार ल्याउन स्थानीयहरुले सकेका छैनन् । कालिकाटारदेखि चुनियाँसम्म आइपुग्न अहिले हिउदमा समेत सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । अप्ठ्यारो बाटो, त्यसमाथि साँघुरो अनि खाल्डाखुल्डी र धुलोले सडक नै पुरिएका कारण साना सवारी साधन चलाउनेहरु ज्यान माया मार्दै हिँड्नुपर्ने बाध्यतामा छन् ।
कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान सडकस्तरीकरणका लागि पहिलेका जनप्रतिनिधिले पहल नै नगरेको बताउँछन् । ‘धेरै पटक यहाँबाट निर्वाचन जितेर धेरै गए तर कसैले पनि यो सडकको बारेमा चासो रखेको पाइएन । अहिले मैले पहल गरिरहेको छु ।,’ मोक्तानले भने । गाउँपालिकाबाट सम्भव हुने काम पालिकाबाट र नहुने कामका लागि प्रदेश सरकार मार्फत पहल गरिरहेको मोक्तानले बताए । विगतमा पनि कैलाश गाउँपालिकाले नामटार–कालिकाटार सडकको स्तरीकरणमा चासो नदेखाएको भने हैन् । सीमित बजेटका कारण सडकलाई उचित निर्माण गर्न नसकिएको पूर्वजनप्रतिनिधिहरु बताउँछन् ।
प्रदेश सरकारलाई पटक–पटक आफूले जानकारी गराउँदै आएको कारणले अब भने प्रदेश सरकार काम गर्ने अवस्थामा पुगेको वर्तमान गाउँपालिका अध्यक्ष मोक्तानले बताए । चुनियाँदेखि कालिकाटारसम्म सडक स्तरोन्नतीको काम प्रदेश सरकारले गर्ने मोक्तानले बताए । तर, ठेक्का भने लागिसकेको छैन् । चुनियाँबाट भाल्टारसम्म साँढे तीन किलोमिटर सडक स्तरीकरणका लागि ४ करोडको ठेक्का भइसकेको मोक्तानले जानकारी दिए । नामटार देखि कालिकाटार सम्म सडकस्तरीकणका लागि आफूले प्रदेश सरकारसँग कुरा गरिसकेको मोक्तानले दाबी गरे ।
‘भाल्टार–कुमल्टार साँढे ९ किलोमिटरको डीपीआर हुन्छ । प्रदेश सरकारले गर्छ । बिचको साँढे तीन किलोमिटर चाँही डीपीआर छुट्याएको रहेछ । त्यो चाहिँ गाउँपालिकाले पहल गर्छु ।,’ मोक्तानले भने । चुनियाँदेखि नामटारसम्म कालोपत्रे गरौँ भन्दा प्रदेश सरकारले बजेट छैन भनिरहेको मोक्तानले आरोप लगाए । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र चौधरीले चुनिायँदेखि नामटार–कालिकाटार कैलाश सडकको काम हुने अवस्थामा रहेको बताए । उनले चुनियाँँदेखि नामटार सम्मको ७ किलोमिटर स्तरीकणको काम भइसकेको बताएका छन् । चुनिायँदेख कालिकाटार सम्मको १३ किलोमिटर सडकको स्तरीकरणका लागि सर्भे भइसकेको र यसलाई बहुवर्षीय बनाउनका लागि डीपीआर आइनसकेको उनको भनाई छ ।







