एउटै मञ्चमा १० स्रष्टा सम्मानित
हेटौंडा-जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा भएको बकैया कला–साहित्य महोत्सव– २०७९ तथा ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टा सम्मानित भएका छन् ।
झरना साहित्यिक परिवारले आयोजना गरेको महोत्सवको एउटै मञ्चमा १० जनालाई एकैपटक सम्मान प्रदान गरिएको हो । महोत्सवमा संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग
गरेवापत नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई नगद ११ हजार एकसय ११ रुपैयाँसहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
बकैया घर भएका स्वर्गीय गौतम काठमाडौंमा कान्तिपुर दैनिकमा काम गर्थे । उनकै सम्झनामा पुरस्कार स्थापना गरिएको थियो । वर्ष २०७९ सालको होमनाथ–टीकामाया प्रतिभाबाट सम्मानित डा. जीवेन्द्र देव गिरीले नगद २१ हजार एकसय २१ रुपैयाँ पाएका छन् ।
साहित्यको मुक्तक विधातर्फ शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार पाँचसय ५५ सहित सरुभक्त सम्मानित भए । साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेवापत नवराज शर्माले बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्राप्त गरे । उनले पुरस्कार स्वरुप १५ हजार पाँचसय ५५ रुपैयाँ प्राप्त गरे । खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्णप्रसाद चौलागाई, खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबी सम्मानित भए । उनीहरुले जनही नगद सातहजार सातसय ७७ पाए ।
पाँचहजार पाँचरुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहालले प्राप्त गरेकी छन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बालसाहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिएको झरना साहित्यिक परिवारले जानकारी दिएको छ । बकैया कला–साहित्य महोत्सवमा रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया बिशेष रचना वाचन गरिएको थियो । यसैगरी, महोत्सवमा नवपुस्ता केन्द्रीत रचना वाचन, बहसःचेतनाको विकासमा स्थानीय तहको भूमिका, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन तथा गायन र स्रष्टा सम्मान गरिएको थियो ।







