हेटौंडामा हात्ती आतंक नियन्त्रण गर्न छैन चासो
हेटौंडा- मनहरी गाउँपालिकामा बितण्डा मच्चाएर एक महिलाको ज्यान लिएपछि पर्सा राष्ट्रिय निकुञ्जको हात्तीले हेटौंडामा पनि आतंक बनाएको छ । निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरेर विगत १० दिनदेखि हात्तीले मनहरी र हेटौंडाका १२ देखि १८ नम्बर वडासम्म आतड्ढ मच्चाइरहेको छ । हात्तीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, मानेडाँडामा एक जनालाई घाइते बनाएको छ ।
हात्तीको आक्रमणबाट हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति १० बजेर २५ मिनेटको समयमा घरनजिक वनबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गरेको हो ।
घाइते वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको शरीरमा बाहिरी चोट नदेखिए पनि दुबै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । हात्तीले विगत १० दिनदेखि
मनहरीमा लगाइएको अन्नबाली नष्ट गर्नुका साथै एक वृद्धा महिलाको ज्यानसमेत लिएको थियो । हात्तीले मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२, १३ र १४ हुँदै चुरियामाई, हटियाबाट हर्नामाडीसम्म आतड्ढ मच्चाइरहेको हो । हात्ती नियन्त्रण गर्न भने सम्बन्धित निकायको चासो नपुगेको स्थानीयहरुले गुनासो गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाबासीले निकुञ्जबाट हटाउन माग गर्दै आएका छन् ।
जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको जिम्मा कसले लिने भन्दै निकुञ्जको नाममा जनधनको क्षति व्यहोर्नुपर्ने अवस्थाबाट मुक्ति चाहिएको स्थानीयको भनाइ छ । सोमबार हात्तीको आक्रमणबाट महिला घाइते भएपछि आक्रोषित स्थानीयको भीडले निकुञ्जको सेक्टर कार्यालयमै आगजनीसहित तोडफोड गरेका थिए । पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयमा तोडफोड भएको थियो । मनहरी गाउँपालिकामा हात्तीले आतड्ढ मच्चाइरहेपछि स्थानीयले निकुञ्जलाई हात्ती नियन्त्रण गर्न आग्रह गरेपनि कुनै सुनुवाई नभएको भन्दै तोडफोडमा उत्रिएका थिए ।







