चण्डिका माविको वार्षिकोत्सव मनाइयो
हेटौंडा- मकवानपुगढी गाउँपालिका–२, स्थित शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । ४४ औं वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेशका सांसद् प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा मनाइएको हो । कार्यक्रममा विभिन्न साँस्कृतिक गतिविधि पनि भएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रिन, गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामबहादुर घलानलगायतको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले वार्षिक योजना प्रस्तुत गरेका थिए । विद्यालयलाई पूर्णतः निःशूल्क गराउने प्रयास भइरहेको र अंग्रेजी माध्यमको नाममा अभिभावकसँग शुल्क नलिने योजनासहित तयारी भइरहेको प्रधानाध्यापक फुयाँलले बताए । साथै, बालमैत्री वातावरणमा शिक्षण, दिवा खाजा, शैक्षिक सुधारका लागि विभिन्न चरणमा परीक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालनलगायत अन्य विभिन्न कामहरु भइरहेको फुयाँलले बताएका छन् । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्र÷छात्राहरुलाई पुरस्कृत गरिएको थियो । १२ कक्षासम्म पठनपाठन हुने चण्डिका माविमा दुईसय ५४ जना विद्यार्थी अध्ययनरत् छन् ।







