जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने भुटनदेवीको प्रण
हेटौंडा- जिल्लाकै पुरानो सामुदायिक विद्यालय भुटनदेवी मावि (प्राविधिक शिक्षालय)को ५६ औं अभिभावक भेला भएको छ ।विद्यालय परिसरमा शुक्रबार हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा भएको कार्यक्रम गरिएको हो । भेलामा अध्यक्ष लामाले अध्यक्षको प्रतिवेदन र प्रधानाध्यापक माधव प्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदनमा भुटनदेवीलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने अभियानमा जुटेको बताइएको छ । विद्यालयलमा कक्षा १ देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन भइरहेको छ । २०२२ सालमा एसएलसी परीक्षामा सहभागी भएको भुटनदेवीमा हाल सिटिइभिटी को डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गरी विद्यार्थीलाई प्राविधिक शिक्षा तर्फ उन्मुख गराइएको प्रधानाध्यक दाहालले बताए ।
दाहालका अनुसार भुटनदेवीले निरन्तर शिक्षाको गुणस्तर सुधार गरिरहेको छ । २०७८ सालको एसईई परीक्षामा २ सय ५ जना सहभागी भएकोमा अधिकांश विद्यार्थीको उत्कृष्ट अंक ल्याएको दाहालले जानकारी दिए । अंग्रेजी माध्यमबाट आफ्ना बालबालिकालाई पढाउन चर्को शुल्कको मारमा पर्दै आएका अभिभावकको समस्या कम गराउन भुटनदेवीले अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक दाहालको प्रतिवेदनमा उल्लेख छ । विद्यालयले शिक्षामा आइटीको प्रयोगलाई प्रोत्साहित गर्ने, कक्षाकोठामा प्रोजेक्टर र स्मार्ट टिभीको व्यवस्था गर्ने, गणित ल्याबलाई व्यवस्थित बनाइने दाहालले बताएका छन् ।
विद्यालयले बालविकासदेखि कक्षा १० सम्मका तहगत अनुशासित, नियमित (हाजिरी) र सरसफाईमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–०७९ मा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्व शिक्षक तथा अभिभावक संघका संयोजक, पूर्व प्रधानाध्यापकहरु, सेवा निवृत शिक्षक, उत्कृष्ट शिक्षकहरुलाई र समृद्धि समाजका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । विद्यालयले ८ जना शिक्षकहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।
अभिभावक भेलाको अबसरमा भुटनदेवीका विद्यार्थीहरुले विज्ञान, सामाजिक र गणित विषयको प्रदर्शनीसमेत राखिएको थियो । ४ नम्बर वडा कार्यालयले गरेको शैक्षिक प्रदर्शनीमा भुटनदेवी सामाजिक विषयमा प्रथम र विज्ञानमा तृतीय हुन सफल भएको थियो । कार्यक्रममा पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, विद्यालयका सल्लाहकार बद्री लम्साल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाललगायतको आतिथ्यता रहेको थियो ।







