७ नम्बर वडा कार्यालयको भवनको उद्घाटन
हेटौंडा- हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको अभावका कारण साँघुरो भवनबाटै सेवा प्रवाह गर्नुपरेपछि ७ नम्बर वडा कार्यालयले दैनिक कामकाजमा असहजता व्यहोर्दै आएको थियो । हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिब १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की भवनको शुक्रबार हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले भवनको उद्घाटन गरेकी हुन् । भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई सेवा दिनका लागि बनेको नयाँ भवनबाट चुस्त दुरुस्त काम गर्न सुझाब दिएकी छन् । जनताले दिएको मतबाटै वडा र नगरको नेतृत्वमा पुगेको महसुश गर्दै शासन होइन सेवकको रुपमा काम गर्न आवश्यक रहेको बताइन् ।
अहिले उपमहानगरका सबै जनप्रतिनिधि सेवकको रुपमा काममा लागेको बताइन् । उनले भनिन् ‘जनताले लिएको विश्वासलाई घात नहुने गरी नगरको समग्र विकासमा लाग्ने छौं,’ नगरको कामले बिस्तारै गति लिइरहेको भन्दै नगर प्रमुख लामाले अहिलेको नेतृत्वले गरेको काम बिस्तारै देखिँदै जानेमा विश्वास दिलाइन् । राजमार्ग बिस्तारको कामसँगै हेटौंडाको स्वरुपमा परिवर्तन आउने, नगरका दुई वडामा आधारभूत अस्पताल सञ्चालन गरी सेवा दिने, बजार क्षेत्रका १० ठाउँमा हाइमाक्स लाइट जोड्ने काम अघि बढिरहेको उनले बताइन् ।
पछिल्लो समय उपमहा नगरमा कार्यरत् कर्मचारीहरु हटाएको बिषयमा भइरहेको टिप्पणीको खण्डन गर्दै कानुनी राज्यको पालना गर्दा अहिलेको अवस्था आएको बताइन् । उनले भनिन् ‘कानुन भन्दा माथि कोही छैन, त्यसैले कानुनकै पालना गर्दा अहिलेको अवस्था आयो,’ उपमहानगरपालिकामा ज्यालादारीमा रहेर काम गरिरहेकाले निष्कासनपछि लोकसेवाको तयारीमा लागेको पाउँदा खुशी लागेको उनले बताएकी छन् । कार्यक्रममा भवनको उद्घाटन गर्दै उपमहानगरमा उपप्रमुख राजेश बानियाँले राम्रो भवन भन्दा पनि जनताको काम प्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए । काम गर्न चुनौती भएपनि त्यसलाई चिर्दै काममा अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।
हेटौंडा उपमहानगरपालिका–७ का वडा अध्यक्ष दामोदर गौतमको सभाध्यक्षतामा भएको वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत शिवराज चौलागाई, हेटौंडा–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष बिष्णुबहादुर दाहाल, ८ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण थापा, वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामालगायतको आतिथ्यता रहेको थियो । काभ्रेको सर्वेश्वर निर्माण सेवा प्रालिले २०७८ कार्तिकमा ठेक्का पारेको ५ कोठे भवन निर्माणका लागि ५१ लाख ६७ हजार ५ सय ७ रुपैयाँ खर्च भएको जनाइएको छ ।







