लामिछानेको एकल कविता वाचन
हेटौंडा- साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्यामा कवि बैकुण्ठ लामिछानेका एकल कविता वाचन भएको छ । संगमको ३ सय २८ औँ साहित्य सन्ध्यामा लामिछानेले आफ्ना राजनैतिक विद्रोह, सामाजिक क्रान्तिका ६ वटा कविता वाचन गरे । उनले ‘अंकगणितको हत्या’, ‘लाशको सेल्फी’, ‘चियाको सुन्दरता’, ‘राइस किलर अर्थात् गणतन्त्रको झट्केलो’ र ‘काँचा मासुका बुख्याँचाहरु’, ‘भुइँ मान्छे र तन्त्रवादका स्वघोषित देवताहरु’ गरी ६ कविता वाचन गरेका हुन् । संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष र गीतकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा साहित्यिक व्यक्तित्व सागर तिमल्सिना, अमृता लामिछाने, समीर पाख्रिन, सानोभाइ बिश्वकर्मा, चेतप्रसाद पौडेल, जगदीशचन्द्र बराल, ओजश्वी गौतम, देवराज तिवारी, पुरुषोत्तम आचार्य, छवि अनित्य, श्रीराम अधिकारी, शान्ति प्रियबन्दना, निमेष निखिल, संप्रस पौडेललगायतले आ–आफ्नो साहित्यिक सृजना प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यसेवी मुक्तिगोविन्द वैद्यलगायतको उपस्थिति थियो । साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा भएको सन्ध्यालाई मनोज पोखरेलले स्वागत गरेका थिए भने संगमका सचिव डीबी बर्तौलाले सहजीकरण गरेका थिए ।







