थाहाका विपन्न महिलालाई आयआर्जनमा जोड्न सीप
हेटौंडा-थाहा नगरपालिकाले गाउँघरमै उपलब्ध बाँस र निगालोबाट हस्तकला सामग्री बनाउन महिलाहरुलाई सिकाएको छ । घरेलु स्रोतबाट हस्तकला सामग्री बनाएर आयआर्जन गर्न सकिने भएपछि थाहा नगरपालिकाले गाउँका महिलाहरुलाई सीप सिकाएको हो । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ४ ठूलोमाखुमा विपन्न वर्गका महिलाले बाँस, निगालाको हस्तकलाका सामग्री बनाउने तालिम सुरु गरेका हुन् । थाहा नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा १५ दिनको सीप विकास तालिम सुरु भएको लघु उद्यम सहजकर्ता दिक्षा पाण्डेले बताएकी छन् । महिलाहरुले तालिममा मुढा, कलमदानी, फुलदानी, फोटो फ्रेम, चुरा स्टाण्ड र ¥याक बनाउन सिक्ने भएका छन् ।
१५ जना महिला सहभागी तालिममा रामकुमार राईले सहजीकरण गरेका छन् । तालिम उद्घाटनको क्रममा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी र थाहा नगर कार्यपालिका सदस्य चन्द्रमाया थिङले तालिमको पूर्ण उपयोग गरी सीप सिकेर व्यवसायिक कार्यमा लाग्न सहभागीहरुलाई आग्रह गरे । तालिमको अन्त्यमा सहभागीहरुले तालिमको क्रममा तयार गरेका सामग्रीहरु प्रदर्शन गरिने जनाइएको छ । निगालाबाट सामान बनाउने सीप विकास तालिम सुरु गर्नुअघि महिलाहरुले उद्यम विकास तालिम लिएका थिए ।उक्त तालिममा व्यवसाय छनोट गर्दा बजार, कच्चा पदार्थ, प्रविधि, कामदार, पूर्वाधार, लगानी, सरकारी नीति, जोखिम आदि कुरामा ध्यान दिनुपर्ने कुरामा स्पष्ट भएपछि सो आधारमा उनीहरुले निगालोबाट हस्तकलाका सामग्री बनाउने व्यवसाय छनोट गरेका हुन् ।







