तामाङ संघको केन्द्रीय कमिटीमा मकवानपुरका ८ जना
हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट लोकतान्त्रिक तामाङ संघ नेपालको केन्द्रीय कमिटीमा मकवानपुरका ८ जना चयन भएका छन् । संघको पदाधिकारीमा दुई जना र अन्य ६ जना केन्द्रीय सदस्य भएका छन् । संघको केन्द्रीय उपमहासचिवमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तान चयन भए । संघको काठमाडौंमा शनिवार भएको दोस्रो राष्ट्रिय सम्मेलनले मोक्तानलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । मोक्तान एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य तथा उपमहानगर इञ्चार्ज छन् । मकवानपुरमा तामाङ समुदायको पहिचान र समग्र क्षेत्रको विकास मोक्तानले विगतदेखि अहम भूमिका निर्वाह गर्दै आएका थिए ।
नवनियुक्त उपमहासचिव मुक्तानले तामाङहरुलाई नेकपा एमालेको नीति र विचारमा गोलबद्ध गराउने उदेश्य बोकेर आफू सधै लागि परिरहेको बताए । मुक्तानले श्रमजीवी वर्ग र गरिखाने वर्गको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको सोझा तामाङहरुको हकअधिकार सुनिश्चितताको लागि सधै कडिबद्ध भएर लाग्ने प्रतिबद्ध व्यक्त गरे । यसैगरी, संघमा मोक्तानसहिद पदाधिकारी र केन्द्रीय सदस्यहरुमा गरेर मकवानपुरका आधा दर्जन नेताहरुको सहभागिता रहेको छ । संघको सचिवमा थाहा नगरकी एमाले नेतृ बरिना बल सर्वसम्मत चयन भएकी छन् ।
संघको केन्द्रीय सदस्यमा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे लामा, रामबहादुर गोले, चन्द्र योञ्जन, नारायण बल, सुशिला मोक्तान, दिलबहादुर स्याङ्तान चयन भएका छन् । संघको प्रदेश आयोजक कमिटी सदस्यमा रत्न ब्लोन, जितबहादुर घलान र धनबहादुर योञ्जन चुनिए । संघको राष्ट्रिय सम्मेलनले अध्यक्षमा पूर्वमन्त्रीसमेत दावा दोर्जे लामालाई चयन गरेको छ । १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने संघको स्थाना १० भदौ २०६३ सालमा भएको थियो ।







