हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धता

साझाकुरा
२०७९ फाल्गुन १५, सोमबार ०९:३४

हेटौंडा- मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिको लागि प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफूले पहल गर्ने बताए । हात्तीको आक्रमणमा परी निधन भएका मनहरी–४ तल्लो मसिनेकी राधादेवी अधिकारीको परिवारसँगको भेटमा उनले जनावरको आक्रमणमा परी मृत्युु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जम्कट्टेललाई अनुरोध गरिसकेको बताए ।

उनले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थोरै भएको उनको भनाई छ । प्रदेश सरकारले केही राहत रकम उपलब्ध गराएमा पीडित परिवारलाई सहज हुने उनले बताए । आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द्ध बढ्दै गएको नेता बानियाँको भनाई छ ।

घाँस, दाउरा, खेतीपातीको काममा महिलाको संलग्नता बढी रहेको कारण जनावरको बढी जोखिममा महिलाहरु रहेको उनले बताए । पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्यौपाने, रमेश पुरी, मनहरी–८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी–३ का वडाध्यक्ष अनन्त अर्याललगायत पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*