आपूर्ति निर्देशकविरुद्ध अख्तियारमा उजुरी
हेटौंडा- बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ ।
सापकोटाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको हो । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी परेको हो । सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप लगाइएको छ । यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २
करोड, वेब टे«डिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।
सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलोमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधीमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाँ दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ । सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतीका नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ । एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपैयाँ हिनामिना गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
यसका साथै, सापकोटाले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी प्रयोग गरेको आरोप लगाइएको छ । आपूर्ति व्यवस्थापनमा कमाएको रकमले नै रोजभिल्लामा ५ करोड रुपैयाँ बराबरको घर लिएको तथा भ्रष्टाचार बढी गरेर कमाएको रकम सनराइज र राष्ट्रिय वाणिज्य बैंकमा बचत गरेको बताइएको छ ।







