सडक नै नभएको ठाउँमा बजेट हाल्दा मकवानपुर जोड्ने पुल ६ वर्षदेखि अलपत्र

साझाकुरा
२०७९ फाल्गुन १७, बुधबार ०९:४७

हेटौंडा- मकवानपुर र काभ्रे जोड्ने पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको छ । पुल समयमै निर्माण हुन नसक्नुमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरले सडक नै नभएको स्थानमा बजेट हाल्नु प्रमुख कारण रहेको खुलेको छ ।काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३÷०७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपैयाँमा महादेव–शिखर–तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर, पुलको बजेट सडक नै नभएको स्थानमा परेको निर्माण व्यवसायी खड्ग गोपाली बताउँछन् । पुल बनाउन गाउँ छिरेको निर्माण कम्पनीले २ वर्षसम्म सडक ट्रयाक खोलेर बस्नु परेपछि ६ वर्षसम्म पुल अलपत्र बनेको हो ।

मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण गर्नुपर्ने थियो । तत्कालीन जिल्ला विकास समिति मकवानपुरले ठेक्का लगाएको पुल देशमा राज्य पुर्नःसंरचना पश्चात संघीयता आएसँगै ५ वर्ष कटिसक्दा पनि पुल निर्माण हुन सकेको छैन् । उक्त जिल्ला समितिको अधिकार तथा दायित्व राज्य पुर्नःसंरचनासँगै सरेर जिल्ला समन्वय समिति र स्थानीय तहमा पुगिसकेका छन् । तर, पुल भने अझै जगमै सीमित छ । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौंडा आउन र मकवानपुरबासी काभ्रे हुँदै अन्यन्त्र जिल्ला जान समस्या बेहोर्दै आएका छन् ।

मकवानपुर र काभ्रे जोड्न बनेपादेखि हेटौंडासम्म नयाँ द्रुतमार्ग बनाउन स्थानीय तहहरु लागिपर्दा पुरानै पक्की पुलको योजना भने अलपत्र छ । बागमती गाउँपालिकाको फापरबारी बजारबाट बेतिनी हुँदै ललितपुरको महांकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकादेखि बनेपासम्म करिब ७० किलोमिटरको सडक निर्माण गर्ने योजनामा चार पालिका छन् । ललितपुर र काभ्रेबाट तराई पुग्न अरनिको राजमार्ग हुँदै बर्दिबास पुग्नुपर्ने बाध्यता छ । अरनिको राजमार्गबाट करिब ५ घण्टाको यात्रा गर्नुपर्ने अवस्थामा फापरबारीदेखि बनेपासम्मको सडक निर्माण गर्न सके द्रुतमार्ग हुने बताइन्छ ।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ६ वर्षसम्म पनि पुल निर्माणको काम सम्पन्न हुन नसकेको बताए । उनले पुल निर्माणको ठेक्का पाएको कम्पनीले पुल निर्माणको काममा ढिलाइ गरेका कारण प्रदेश राजधानी हेटौंडा आउन खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले समस्या भोग्नु परेको

सुनाए । खानीखोला गाउँपालिका–५का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बागमती नदीमा पुल निर्माणमा ढिलाइ भएका कारण स्थानीय नागरिकले उत्पादन गरेका उपजहरु बिक्रीका लागि बजारसम्म लैजान नसकिएको बताए ।यता, पुल निर्माण समयमै निर्माण हुन नसक्नुमा निर्माण कम्पनीका पनि आफ्नै व्यथा छन् । पुल निर्माणको ठेक्का पाएको महादेव–शिखर–तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले सरकारी निकायकै कारण पुल निर्माण समयै हुन नसकेको बताए । ‘तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएकाकारण पुल निर्माणको काममा ढिलाइ भएको हो,’ उनले भने–‘सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइयो । पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम ग¥यौं । यसले गर्दा हाम्रो पुल बनाउने दुई वर्षको समय सडकको ट्रयाक खन्नमै सकियो र पछि कोभिड–१९ का कारण काम रोकियो।,’गोपालीका पनि आफ्नै दुःख छन् ।

उनको साढे २ करोड रुपैयाँ सडक निर्माण गर्दा फसेकोछ । उक्त रकम हालसम्म पनि पाउन नसकेको बताए । ‘ट्रयाक खनेको साढे ५ किलोमिटर करिब २ करोड पाएनौं । काम गर्दै गर्नु मिलाएर दिउला चाहीँ भन्छन् । भौतिक मन्त्रालयमा निवेदन दिएका छौं, काम गर्नुस् पैसा आउँछ भन्छन्, यहाँ डिजेल किन्न पैसा छैन ।,’ गोपालीले देखेसो पोखे । तत्कालीन समयमा सडक खनेको पैसा दिन्छौं भनेर स्थानीय गाउँपालिका, वडा कार्यालयले निर्णयमा हस्ताक्षरगरेको बताए ।सडक निर्माणका क्रममा ठूलो चट्टा फोड्नु पर्ने कामले पुल निर्माण गर्न नसकिएको बताए । हाल पुलको दुई तिर फाउण्डेशन निर्माण भइसकेको छ । स्ल्याब गर्न भने बाँकी छ । पुलको ठेक्का लागेर काम सुरु हुने बेला संघीयता कारण जिल्ला विकास समिति खारेज भएपछि थप अन्यौलता सिर्जना भएको थियो ।

जिविस खारेज भएपछि यसको दायित्व १० महिना पछि मात्रै पूर्वाधार विकास कार्यालय चितवनले लिएको गोपाली बताउँछन् । पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्रकुमार चौधरीले जिविसबाट दायित्व सरेर प्रदेशमा आएपछि काम भएको दाबी गर्छन् । उनले पुलको हालसम्म भौतिक प्रगति ४० मात्रै भएको बताए । आगामी असारसम्म स्ल्याब ढलान हुने उनको भनाई छ ।
निर्माण व्यवसायी गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम (खोलामुनि पिल्लरका लागि रड राख्ने) सकिएको बताए । नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको उनको भनाई छ ।

११ करोड रुपियाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुई पटक म्याद थप भइसकेको छ । सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो । पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमती गाउँपालिकाको केन्द्र झुरझुरेस्थित्धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*