३९० को निःशुल्क आँखा परीक्षण
हेटौंडा-रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निःशुल्क आँखा शिविरमा ३ सय ९० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।मंगलबार रौतहटको फतुवा बिजयपुर गाउँपालिका वडा नम्बर ११, हिमालिबासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परीक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए ।
जसमध्ये ४८ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् । त्यसैगरी सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ७ क्यानेश्वरमा १ सय ४२ जनाको परीक्षण गर्दा २५ जना मोतिबिन्दुका बिरामी भेटिएको कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले जानकारी दिए ।शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । मोतिबिन्दुका बिरामीहरुको फागुन १९ गते शुक्रबार हेटौंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने संयोजक पराजुलीले बताए । पराजुलीका अनुसार बुधबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५, रानिगन्ज र सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ३, पिपलमाडीमा शिविर हुनेछ ।







