बकैयामा नमूना युवा गाउँसभाको अभ्यास प्रशिक्षण
हेटौंडा- बकैया गाउँपालिकामा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा पहिलो पटक नमूना युवा गाउँसभाको अभ्यास सम्बन्धी ३ दिवसीय प्रशिक्षण कार्यक्रम मंगलबारबाट सुरु भएको छ । गाउँपालिका कार्यालयको आयोजनामा गाउँपालिकाको १२ वटै वडाहरुमा गठित वडा स्तरिय युवा क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागी तालिम ३ दिन संचालन हँुदै नमूना युवा गाउँसभा संचालन भएपश्चात समापन हुनेछ । कार्यक्रममा वडा स्तरिय युवा क्लबको आश्श्यकता र महत्व, युवा नीति, नेतृत्व, राज्य प्रणाली, नेतृत्व विकास, युवा मार्गदर्शन, नगरपरिषद्, यसको संरचनालगायतका विषयबस्तुमा प्रशिक्षण प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, गाउँसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँसभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि सहजीकरण गरिने जानकारी दिए । प्रशिक्षणमा बकैया गाउँपालिका १२ वटै वडाका ४५ जना युवाहरुलाई राष्ट्रिय प्रशिक्षक सन्जिप न्यौपाने र सन्देश गौतमले सहजीकरण गरेका छन् । प्रशिक्षण कार्यक्रमको मंगलबा एक कार्यक्रमका बीच बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उद्घाटन
गरेका थिए ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका ३ नम्बर वडा अध्यक्ष भुमल सिं घलान, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल तथा ९ नम्बर वडा अध्यक्ष टंकध्वज लोप्चन, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहाल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामाङलगायतको उपस्थिति रहेको थियो ।







