कालाभैरवको नयाँ भवन बनेपछि विद्यार्थीलाई धुलो–धुँवाबाट मुक्ति

साझाकुरा
२०७९ फाल्गुन १८, बिहीबार ०९:१६

हेटौंडा, १७ फागुन÷ बकैया गाउँपालिकाको विकट क्षेत्र धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयको नयाँ भवन बनेको छ ।विगतमा जीर्ण भवन, भाँचिएका बेन्चि, माटोको धुलाम्य भुँइ, ढुंगा र माटोको कोठाको एक पाखा भत्किएको र भूकम्पले थलिएको विद्यालयमै बसेर पढेका विद्यार्थीले नयाँ भवन पाएका हुन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ धेत्रे दमारको कालाभैरव प्राविका विद्यार्थीलाई नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता भएको हो ।

विद्यार्थी बोकेर प्रधानाध्यापक र कार्यालय सहयोगीले सिमात खोला तारेको घटनाले देशव्यापी चर्चा पाएको कालाभैरवको अवस्था क्रमिक रुपमा फेरिँदै गएको छ । इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोगमा दुई कोठे पक्की भवन निर्माण भएपछि विद्यार्थीलाई पानी, घामको त्रास हटेको छ ।इस्थर बेन्जामिन्सको सहयोगमा विद्यालय व्यवस्थापन समिति तथा वडा अध्यक्षको पहलमा भवन तथा शौचालय निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले विद्यालय जान पुल नहुँदा बिद्यार्थीहरु बोकेर खोला तारेको र जीर्ण विद्यालय भवनका कारण पठनपाठनमा समस्या भएको बिषय मिडियामार्फत सार्वजनिक भएपछि इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको सहयोगमा विद्यालय भवन निर्माण भएको थियो ।

सिमात खोलाका कारण बालबालिकाहरु वर्षायाममा ज्यान जोखिममा राखेर विद्यालय आउनुपर्ने बाध्यता पनि अन्त्य हुने भएको छ । नयाँ विद्यालय भवन निर्माण भएपछि बिद्यार्थीहरु पनि नियमित बिद्यालय आउन थालेको प्रअ घलेले बताए ।साढे २१ लाखमा दुई कोठे पक्की भवन, बालमैत्री धारा र शौचालय निर्माण भएको उनले बताए । नयाँ भवन पढ्न पाएपछि नानी बाबु खुसी भएको प्रअ घलले बताए । अब धुलो धुँवामा बस्नुपर्ने बाध्यता हटेको उनको भनाई छ । बकैया गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईमार्फत गाउँपालिकामा समन्वय गरेर राडो नेपालले यहाँ पुल निर्माण गर्न सर्वेसमेत गरिसकेको छ ।

वडा अध्यक्ष बजगाईले विद्यालय भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै पुल निर्माण पनि चाँडै हुने विश्वास व्यक्त गरे । उनले बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।विद्यालयमा हाल धेत्रे, गोदाम डाँडा, ढिस्कापाखा, चुवार पाखा र अजिंगरेका २३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यहाँ बालविकास शिक्षा पनि संचालनको तयारी गरिएको छ । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको यस विद्यालय २०६१ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*