माओवादीको दुई महिने संगठन सुदृढ अभियान
हेटौंडा- मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटीले दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सुरु गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमबीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले अभियानको शुभारम्भ गरेका छन् । हालसम्मको राजनैतिक उपलब्धी माओवादी केन्द्रको आन्दोलनको कारण भएकोले यसलाई संस्थागत विकास गर्न क्रियाशिल हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । उनले प्रदेश सरकार र स्थानीय सरकारलाई नमूना योग्य बनाउन विशेष योजना तयार गरी सुझाव दिन आग्रह गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्टीको सम्बन्धलाई जनस्तरमा सुदृढ गरी विकेन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिएकी छन् । उनले जनताको सल्लाह, सुझाव र चाहना अनुसार पार्टीको गतिविधि सञ्चालन गर्न भनिन् । अभियानका क्रममा जिल्लाको संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई कमाण्डर तोकिएको केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताए ।
लामिछानेले अभियानका क्रममा शहिद परिवार, घाईते, बेपत्ता योद्धा परिवार, पूर्वजनमुक्तिसेना भेटघाट, पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गरिनुका साथै नागरिकहरुलाई आत्मनिर्भर बनाउन उत्पादन योजना निर्माण गरिने बताए । उनले अभियानका क्रममा पार्टीलाई विकसित नयाँ प्रविधि अनुरुप अगाडि बढाउने समेत बताएका छन् । पार्टीको दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियानका क्रममा पार्टीका सबै संगठनहरुलाई क्रियाशिल बनाई नियमित अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिने पार्टी जिल्ला समन्वय समितिका सचिव भीम पाख्रिनले जानकारी दिए ।
पार्टी जिल्ला समन्वय समिति संयोजक शर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सन्तोष बिष्ट, मानकुमारी पाख्रिन, पार्टी बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीलगायतको उपस्थिति रहेको थियो ।







