पाँच दिने सूचना प्रविधि मेला हुँदै
हेटौंडा- सूचना प्रविधि सम्बन्धी पाँच दिनसम्म हेटौंडामा मेला सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हेटौंडामा सूचना प्रविधि मेला हुन लागेको हो ।हेटौंडाको रोयल पार्टी प्यालेसमा सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको मेलाका संयोजक पुष्पराज पुडासैनीले बताए ।
चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुने उनले जानकारी दिए । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, बीमा सम्बन्धी प्रदर्शनी तथा बिक्री स्टल रहने जनाइएको छ । मेलामा कुल ४० वटा स्टल रहने भएको हो । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सिसिटिभी तालिम हुने जनाएको छ ।
यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइबर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ । मेलामा रोबर्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ । गेममा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।रोबर्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने मेलाका संयोजक पुडासैनीले जानकारी दिए ।







