कुखरेनीमा ८६ लाख लगाएर कुण्ड निर्माण गरिँदै
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९, स्थित कुखरेनी खोला सामुदायिक वन क्षत्रेमा मानवेश्वर कुण्ड निर्माण थालिएको छ ।बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमातहत रहेको पर्यटन विकास आयोजनाबाट विनियोजित ८६ लाख रुपियाँ बजेटमा कुण्डको पहिलो चरणको काम थालिएको हो । मानवेश्वर कुण्ड निर्माण समितिले डीपीआर तयार पारेर ९० मिटर लम्बाई र ५० मिटर चौडाईको पोखरीमा निर्माण हुने प्रोटेक्सन वालको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छन् ।
कुण्डको शिलान्यास गर्दै नगर प्रमुख लामाले आन्तरिक र बाह्य आगन्तुकका लागि कुखुरेनी नयाँ गन्तव्यको रुपमा विकास हुने बताइन् । उनले उपमहानगर क्षेत्रमा यस्तै पोखरी र तालहरु निर्माण गरेर पर्यटकको आकर्षण केन्द्र बनाउने तयारीमा लागिरहेको बताएकी छन् ।‘ताल हेर्न र घुम्नकै लागि भनेर धेरै मानिस हेटौंडाहुँदै आवतजावत गर्छन्, उनीहरुलाई हेटौंडामै रोक्ने वातावरण बनाउन जरुरी छ’, लामाले भनिन् । कुखरेनी खोलाको पारी हेटौंडा–१४ मा फनपार्कसहितको आकर्षक पिकनिक स्पोट बनाउन छलफल चलिरहेको उनले बताइन् । बजारबाट नजिक रहेका खाली ठाउँलाई व्यवस्थापन गर्दै लैजाने तयारी उपमहानगरले गरिरहेको उनको भनाइ छ ।
बागमती प्रदेशको राजधानीसमेत रहेको उपमहानगरपालिकालाई व्यवस्थित र सुन्दर नगरी बनाउने योजनामा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताइन् । कुखरेनी खोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अञ्जन दाहालको अध्यक्षतामा भएको कुण्ड शिलान्यास कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी, १४ नम्बर वडाका वडाध्यक्ष दीपक खड्का, धाप टोल विकास संस्थाका अध्यक्ष लिला थापा र कुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार मिश्रको आतिथ्यता थियो ।







