मकवानपुरका १० सहित विपद् प्रभावित ४१ कृषकलाई राहत

साझाकुरा
२०८० असार २९, शुक्रबार ११:५०

हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मकवानपुरका १० सहित प्रदेशभरबाट ४१ जना विप्द प्रभावित कृषकलाई राहत दिएको छ ।मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिलाई राहत रकम वितरण गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । उनले स्वीकृत भएको राहत रकम किसानकै खातामा जम्मा भइरहेको पनि बताएका छन् ।

राहत पाउनेमा सबैभन्दा बढी चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको दुई–दुई तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौंका एक–एकजना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको हो । ४१ जना कृषकले ६ हजारदेखि १० लाख रुपैयाँसम्म गरी १ करोड ५७ लाख ७५ हजार रुपैयाँ राहत रकम प्राप्त गरेका छन् ।

मकवानपुरमा बढी राहत पाउनेमा हेटौंडा उपमहानगरपालिकाको र हेटौंडामा पनि ६ नम्बर वडाभित्रका कृषक छन् । एलिना बंगुर फर्म हेटौंडा–११ लाई ३ लाख ९० हजार, सिमलथली बाख्रा फर्म हेटौंडा–३ लाई १ लाख १३ हजार, कल्पना घिमिरे हेटौंडा–६ लाई १ लाख ३६ हजार ९ सय २०, अम्बिका खतिवडा हेटौंडा–६ लाई १० हजार ८०, कृष्णप्रसाद दंगाल हेटौंडा–६ लाई १० हजार ८०, किर्तिमान श्रेष्ठ हेटौंडा–६ लाई १७ हजार ६ सय ४०, प्रदिप थापा क्षेत्री हेटौंडा–१७ लाई ७५ हजार ६ सय, एकीकृत बस्ताकोटी कृषि फर्म इन्द्रसरोवरलाई ४५ हजार १ सय ६०, अनुस्थ नर्सरी तथा व्यावसायिक तरकारी फर्म हेटौंडा–६ लाई ३० हजार २ सय ४० र पुष्पराज पराजुली हेटौंडा–६ लाई १० हजार राहत रकम उपलब्ध गराइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार राहत रकम वितरणका लागि मन्त्रालयले ०७९ मंसिर २३ गते सार्वजनिक सूचनामार्फत विपतबाट प्रभावित किसानलाई निवेदन दिन आह्वान गरेको थियो । नेपालमा नै पहिलोपटक प्रदेश सरकारलाई कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैरप्राकृतिक विपद्बाट प्रभावित ४१ जना किसानलाई राहत रकम प्रदान गरेको हो । राहत रकम वितरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको बैठक गरेको निर्णय अनुसार कृषकलाई राहत रकम वितरण
गरेको हो ।
मन्त्रालयद्वारा जारी सार्वजनिक सूचनाको आधारमा प्रस्ताव पेस गरेकामध्ये ४१ जना कृषकलाई राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी अनुपले जनाए ।राहत रकम प्राप्त गर्नको लागि किसानलाई निवेदनको साथै विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित कृषि ज्ञानकेन्द्र–भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायबाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मन्त्रालयमा पेस भएको निवेदनलाई अध्ययन तथा निरीक्षण समितिलाई रकम सिफारिससहित राहत व्यवस्थापन तथा निर्देशन समितिमा पेस भएपश्चात् सो राहत रकम स्वीकृत गरिने छ । चालु आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयको योजना रहेको अधिकारीको भनाई छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि कृषकलाई राहत वितरण गर्न ५ करोड बजेट छुट्याइएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*