हेटौंडा, मनहरी र बकैयाले सुर्तीजन्य पदार्थ निषेध गर्दै
हेटौंडा- मकवनपुरका केही स्थानीय तहले १ साउनबाट मादकपदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्यपदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको छ । बकैया गाउँपालिकाले १ साउनबाट पालिकाभित्र मादकपदार्थको जथाभावी प्रयोग र सूर्तीजन्य पदार्थको प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्यपदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले ०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्यपदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । ‘सार्वजनिकस्थल जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्यपदार्थको बेचबिखन र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउन उपमहानगरपालिकाले १ साउनबाट अभियान सुरु गर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिले उपमहानगरका टोलटोलमा प्रचार–प्रसार, माइकिङ गरेर जानकारी गराउने तयारी गरेका छौं ।’
प्रवक्ता न्यौपानेले पालिकाको निर्देशन नमान्ने जो कोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जानकारी दिए । उनले होटेल तथा रेस्टुरेन्टलाई समेत सुर्तीजन्यपदार्थ प्रयोग गर्न स्मोकिङ जोन छुट्याउन पत्राचार गर्ने बताए । ‘पहिल्यैदेखि नै कानुन थियो तर, त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भइरहेको थियो । अब कानुनको परिपालनामै कडाइ गर्ने तयारी गरेका छौँ । होटेल तथा रेस्टुरेन्टमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्दै छौँ,’ उनले भने ।
बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाकारुपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाकारुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताए । ‘कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थ स्वाभाविकरुपमा प्रयोग गर्न पाइँदैन । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले भने ।
१ साउनबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, विक्री–वितरण, तथा प्रयोग गर्न पूर्णरुपमा निषेध गर्ने भनी सूचित गराइसकिएकाले कसैले सूचनाको बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने अध्यक्ष लामिछानेले चेतावनी दिए । उनले पालिकाभित्र सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनको उल्लंघन गरे दोब्बर सजाय हुने दाबी पनि गरे ।
हेटौँडा र बकैयाले जस्तै मनहरी गाउँपालिकाले पनि पालिकाभित्र सुर्तीजन्यपदार्थ बिक्री–वितरणमा रोक लगाउने जनाएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्यपदार्थ बिक्रीवितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्यपदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।







