मकवानपुरको ४ सयसहित बागमतीमा मरे चार हजार पशु

‘लम्पी स्किन’ संक्रमण बढ्दै
साझाकुरा
२०८० श्रावण १५, सोमबार ११:२५

हेटौंडा-बागमती प्रदेशका जिल्लामा ‘लम्पी स्किन’ रोग संक्रमणबाट चार हजार भन्दा बढी पशुचौपायको मृत्यु भएको छ ।गाईभैंसीमा देखिने लम्पी स्किन रोग महामारीकै रुपमा फैलिएपछि किसानहरु चिन्तित बनेका छन् । रोग निवारणका लागि सरकारी तहबाट खोप अभियानलाई तीव्रता दिइए पनि पशुहरुमा संक्रमण र मर्ने दर भने नियन्त्रणमा आउन सकेको छैन । बागमती प्रदेशमा ‘लम्पी स्किन’बाट विगत ७ महिनामा करिब साढे चार हजारभन्दा बढी पशुहरु मरेको बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जानकारी दिएको छ । गत पुस २०७९ देखि ८ साउन २०८० सम्मको तथ्यांक अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा ४ हजार ६ सय १८ पशु मरेका हुन् ।

संक्रमणका कारण गाई, गोरु, भैंसी, बाच्छा÷बाच्छीसहित पशु मरेको निर्देशनालयले जनाएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकी पशुविकास अधिकृत डा.सविना मिश्रका अनुसार प्रदेशमा लम्पी स्किन रोगका कारण १ लाख ५३ हजार ९ सय ५ पशु प्रभावित भएका छन् । प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा पशु मरेका छन् । काभ्रेमा लम्पी स्किनका कारण ६ सय ८१ वटा गाई र गोरु मरेको मिश्रले जानकारी दिइन् । सिन्धुलीमा ६ सय ५०, धादिङमा ५ सय १३, मकवानपुरमा ४ सय ४६, नुवाकोटमा ४ सय ११, सिन्धुपाल्चोकमा ३ सय ६०, काठमाडौंमा ३ सय ५७, भक्तपुरमा २ सय ९३, चितवनमा २ सय ४२, रामेछापमा २ सय २९, दोलखामा १ सय ७४ र रसुवामा १ सय ७३ र ललितपुरमा ८९ पशु मरेका छन् ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोकमा मात्र ३० हजार ७ सय १४ वटा पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । रोगबाट सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार ४ सया ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार ३ सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार १ सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा ७ हजार ४ सय ५६, भक्तपुरमा ६ हजार ४ सय १३, काठमाडौंमा ५ हजार ३७, रसुवामा १ हजार ८ सय ७ र ललितपुरमा १ हजार ४ सय ३१ वटा पशु लम्पी स्किन रोगबाट प्रभावित भएको जनाइएको छ ।

तथ्यांकअनुसार लम्पी स्किनबाट प्रभावित हुने सबैभन्दा धेरै गाई रहेको छ । बागमती प्रदेशमा सबैभन्दा पहिला यो रोग २०७९ पुसमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा देखापरेको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरका अनुसार संक्रमण मकवानपुरपछि माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र बैशाखमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा फैलिएको थियो । रोग फैलँदै गएपछि संक्रमणविरुद्धको खोप लगाउने कामलाई पनि तीव्र पारिएको छ ।

रोग नियन्त्रणका लागि संक्रमित नभइसकेका एक लाख १७ हजार ९ सय ५ वटा पशुमा खोप लगाइसकिएको निर्देशनालयले जनाएको छ । हालसम्म १ लाख १५ हजार ६ सय ९७ गाई र ५ हजार १ सय ८ भैंसीलाई खोप लगाइसकिएको हो । निर्देशनालयकी पशुविकास अधिकृत डा. मिश्रका अनुसार साउन २५ गतेदेखि संक्रमण नफैलिएको क्षेत्रमा सप्ताहव्यापी खोप अभियान नै सञ्चालनको तयारी छ । लम्पी स्किन रोगको संक्रमण हुँदा गाई भैंसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैंसीको दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने र पछि गिर्खाहरु फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्युसमेत हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*