मकवानपुरमा कांग्रेसको विशेष आन्तरिक अभियान
हेटौंडा- नेपाली कांग्रेसले देशभर पार्टीको विशेष आन्तरिक अभियान सुरु गरेको छ । साउन २० गतेदेखि ३० गतेभित्र पार्टीको विभिन्न इकाईं समितिको बैठक बस्ने गरी पार्टी चलायमान बनाउन विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।अभियानअन्तर्गत् साउन २० र २१ गते नेपाली कांग्रेस मकवानपुरको पूर्णकार्यसमिति बैठक बसेर अभियान आरम्भ गरिसकिएको छ ।
बैठकले पार्टीको हितमा विभिन्न निर्णयसमेत गरेको मकवानपुर जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए । लामाका अनुसार साउन २३ र २४ गते मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ र २ को बैठक बसेको थियो । सोही अभियानअन्तर्गत् साउन २५ र २६ गते मकवानपुरको प्रदेशसभा, नगरपालिका र गाउँपालिका समितिको बैठक बस्नेछन् ।
साउन २७ र २८ गते मकवानपुर जिल्लाका सबै वडागत समितिको बैठक बस्नेछन् भने २९ गते नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग बैठक हुनेछ । ३० गते जिल्लाका कार्यकर्ता भेला गरी अभियान समापन गरिने सभापति लामाले बताएका छन् ।







