आरामाविमा विज्ञान कक्षा तथा प्रयोगशाला उद्घाटन
हेटौंडा-हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा विज्ञानकक्षा तथा प्रयोगशाला उद्घाटन भएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा मानव स्रोतविकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।विज्ञान कक्षा तथा प्रयोगशाला उद्घाटन भएसँगै विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पठनपाठन सुरु गरेको छ । विज्ञान संकाय सुरुवातको घोषणा तथा प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक पौडेलले मकवानपुर जिल्लाकै उत्कृष्ट आधुनिक माविलाई अझै व्यवस्थित गरेर लैजान सुझाव दिए ।अहिले प्लस टुपछि विद्यार्थीहरु विदेश जाने तयारी गर्ने हुँदा विज्ञान पढ्ने विधार्थीहरुमा कमी आएको समेत बताए ।
महानिर्देशक पौडेलले हालसम्म पनि २०२८ सालकै शिक्षा ऐन लागु भइरहेको भन्दै सरकारले शिक्षा ऐन परिवर्तन गर्न खोजेको बताए । संघीयताको मर्म अनुसार सरकारले नयाँ ढंगबाट जाने सोच बनाएर कार्यविधि तयार गरिएको बताए । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा विभिन्न टिकाटिप्पणीहरु भईरहेको बताउँदै पौडेलले सरकारले ल्याएको ऐन नै सुधारको लागि भएको दावी गरे ।बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले विज्ञान विषय पढ्ने विद्यार्थीहरुका लागि आधुनिक माविले अवसर प्रदान गरेको बताए ।
उनले विज्ञान, गणितको जनशक्ति नभएको बताउँदै विज्ञान विषय लिएर पढ्दा धेरै अवसरहरु प्राप्त गर्र्न सकिने बताए । उनले मकवानपुर जिल्लामै उत्कृष्ट आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई आगामी दिनहरुका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईका अनुसार पहिलो वर्षमा विज्ञान संकायमा ४३ जना विद्यार्थी भर्ना भएका छन् । २०६७ सालदेखि उच्चमावि तहमा मानविकी र शिक्षा संकाय सञ्चालन गर्दै आएको आधुनिकमा यस वर्षदेखि अग्रेजी माध्यममा व्यवस्थापन संकायलाई पनि सुरु गरेको प्रअ गुरागाईले बताए ।
विद्यालयले प्रयोगशाला तथा विज्ञान कक्षालाई व्यवस्थित बनाएर लैजाने उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम अन्सारीको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालय पूर्वप्रधानाध्यापक ऋषिराम पोखरेलको आतिथ्यता रहेको थियो ।







