मनहरीमा ६९३ सुकुम्बासी परिवारलाई जग्गा दिन सिफारिस
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाका सुकुम्बासीलाई बितरणका लागि मनहरी गाउँपालिकामा पर्याप्त जग्गा फेला परेको छ ।गाउँपालिकाका ९ वटै वडामा खाली र पर्ती जग्गा रहेकाले सुकुम्बासी परिवारलाई बितरण गर्न जग्गाको अभाव नरहेको वडा कार्यालयहरुले गाउँ कार्यपालिकालाई जानकारी गराएको हो । मनहरी गाउँपालिका भूमि व्यवस्थापन शाखा प्रमुख राजेन्द्र चौलागाईका अनुसार कूल ६९३ जना सुकुम्बासी पहिचान भएको छ । दलित भूमिहीन १०१ परिवार र भूमिहीन सुकुम्बासी ५९२ परिवार पहिचान भई उनीहरुलाई जग्गा बितरणका लागि राष्ट्रिय भूमि आयोगमा प्रतिवेदनका साथ सिफारिस गरिएको उनले बताए ।
मनहरी गाउँपालिकाका २०८० साउन १६ गतेको कार्यपालिका बैठकले ६९३ परिवार सुकुम्बासीलाई बितरण गर्नका लागि १ देखि ९ वटै वडामा पर्याप्त जग्गा रहेको विवरणसहित आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठका अनुसार वडा नं १ मा २२० कठ्ठा, वडा नं २ मा एक हजार कठ्ठा, वडा नं ३ मा २ सय कठ्ठा, वडा नं ४ मा ८९४ कठ्ठा, वडा नं ५ मा २२० कठ्ठा, वडा नं ६ मा ४२० कठ्ठा, वडा नं ७ मा २ हजार १ सय कठ्ठा, वडा नं ८ मा ३२० कठ्ठा र वडा नं ९ मा ३२० कठ्ठा जग्गा फेला पारिएको छ ।
९ वटै वडामा कूल ५ हजार ३ सय ७४ कठ्ठा जग्गा फेला पारिएको कार्यपालिकाले जनाएको छ । यद्यपि मनहरी गाउँपालिका भित्रका ६९३ परिवार सुकुम्बासीका लागि जग्गा बितरण गर्न ३ हजार ६ सय ४८ कठ्ठा जग्गा आवश्यक पर्छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोगलाई सिफारिस गरिएका खुला र पर्ती जग्गाहरु अधिकाँश पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा परेका छन् । कानूनी जटिलताका कारण निकुन्जले ती जग्गालाई नापी गर्न दिनसक्ने अबस्था भने नदेखिएको जानकारहरु बताउँछन् ।







