सत्तापक्षका नेतालाई जोगाउन एआईजीको सरुवाः बर्तौला
हेटौंडा-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुको सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु सुन तस्करी प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारी (एआईजी) को सरुवा गर्ने काम गरेको आरोप लगाएका हुन् ।
आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुुराकानी गर्दै उनले सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरुलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको बताए ।
सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबीन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने बताए । सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन उच्चस्तरीय समिति भने बन्नुपर्ने बताए ।







