वडाअध्यक्ष केसीलाई ध्यानाकर्षणपत्र
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–९ का वडाअध्यक्ष सुकराम केसीलाई नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीले ध्यानाकर्षणपत्र बुझाएको छ ।९ नम्बर वडाका पूर्ववडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले देशव्यापी रुपमा फैलिएको डेंगु, आखाँ पाक्ने रोग, लम्की स्किन, विकास निर्माणको गुणस्तरीयता, शिक्षा, स्वास्थ्य, सरसफाई, सडक, विद्युत, खानेपानी, रोजगारीलगायत साथै दैनिक सेवाप्रवाह र समसामयिक विषयमा वडाअध्यक्ष केसीलाई उनकै कार्यकक्षमा ध्यानाकर्षण गराएको हो ।
वडाकमिटीले हाल देशव्यापी रुपमा फैलिदै गईरहेको डेंगु र आखाँ पाक्ने रोगका कारण नागरिकको स्वास्थ्यमा देखिएको जोखिम यस वडामा पनि रहेको पाईएको तर, यस विषयमा वडा कार्यालयले खासै चासो र ध्यान दिएको नपाईएकोप्रति नागरिकको समेत गुनासो आएको भन्दै वडाले तुरुन्त यस विषयमा पहल गरोस र नागरिकको स्वास्थ्य प्रति जिम्मेवार बनोस भन्दै ध्यानाकर्षण गराएको हो ।त्यस्तै गाईबस्तुमा फैलिदै गईरहेको लम्की स्किन रोगको प्रकोपको रोकथाम, उपचार र राहतको लागि सम्बन्धित निकायमा पहल गर्न, आर्थिक वर्ष २०७९÷८० मा विभिन्न भौतिक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको साथै कतिपय संरचनाहरु मापदण्ड विपरित समेत निर्माण भएको विषयमा ध्यानाकर्षण गराईएको एमाले ९ नम्बर वडा सचिव नारायण खतिवडाले बताए ।
त्यस्तै वडामा हुने विकास निर्माणमा सबैको सहभागिता र सहमतिमा काम गर्न÷गराउन, सामाजिक क्षेत्रका कामहरु प्रभावकारी रुपमा अगाडि बढाउन, शिक्षा सुधारको योजना बनाउन साथै वडाको काम कारबाहीलाई पारदर्शी र जनमैत्री बनाउन ध्यानाकर्ष गराईएको उनले जानकारी दिए ।ध्यानाकर्षणपत्र बुझ्दै वडाअध्यक्ष केसीले यसअघि भएका कमिकमजोरीलाई सच्याउँदै सबैको सल्लाह बमोजिम अगाडि बढ्ने प्रतिबद्धता जनाए ।साथै उनले वडाको विकासमा सबैको सहयोगको अपेक्षा रहेको र सहयोग गर्न आग्रह समेत गरे । ध्यानाकर्षण बुझाउने टोलीमा पूर्ववडाअध्यक्ष भण्डारी, पूर्ववडासदस्य लक्ष्मी नेपाली लगायतको सहभागिता थियो ।







