सिंह पूर्वाधार विकास समिति सभापतिमा निर्विरोध

साझाकुरा
२०८० भाद्र १२, मंगलवार १०:१७

हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह प्रतिनिधिसभाको विषयगत समिति पूर्वाधार विकास समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।सोमबार प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापति चयन गर्न निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियाअनुसार राप्रपा सांसद सिंहको विकास समितिमा एकल उम्मेदवारी परेपछि सभामुख देवराज घिमिरेले सभापतिमा चयन भएको घोषणा गरेका थिए । प्रतिनिधिसभाको महत्वपूर्ण विषयत समितिको सभापति हुने सिंह मकवानपुरको थोरै नेतामध्ये पर्छन् । अघिल्लो कार्यकालमा अर्थ विकास समितिको सभापतिमा मकवानपुरका सांसद कृष्णप्रसाद दाहाल थिए । ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

गठबन्धनको भागबण्डा लाग्दा विषय समितिमा राप्रपाले एउटा समिति पाएपछि सिंहको सभापति बन्ने बाटो खुलेको थियो । गठबन्धनभित्रको भागबण्डामा विकास समिति माओवादी केन्द्रको भागमा परेको थियो । राप्रपाले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने सहमति जनाएपछि मओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई विकास समिति दिएको चर्चा छ । तर, कुनै सहमति गरेर समितिको सभापति नलिएको सिंहले दाबी गरेका छन् । सिंहले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संसदीय समितिहरुले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने गर्दछन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई डाकेर समितिहरुले प्रष्टीकरण लिन पाउँछन् भने सरकारको कामको निगरानी गर्ने गर्छन् । संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह तलब सुविधा पाउँछन् । समिति सभापतिले मासिक ६९ हजार ३० रुपैयाँ तलब पाउँछन् भने २५ हजार ६ सय ५८ रुपैयाँ घरभाडा प्राप्त गर्छन् । काठमाडौं उपत्यकामा घर भएका समिति सभापतिहरुले भने त्यसको आधा रकम घर मर्मतका लागि पाउँछन् । त्यस्तै धारा बिजुलीका लागि २ हजार र सञ्चार सुविधाका लागि ३ हजार सुविधा पाउँछन् । त्यस्तै अतिथि सत्कारका लागि १ हजार रुपैयाँ पाउँछन् ।

समितिका सभापतिलाई सचिवालय सुविधादेखि गाडी, तेल सुविधा संसद सचिवालयले प्रदानगर्छ । समिति सभापतिले उपसचिव तहको कर्मचारी, कम्प्युटर अपरेटर राख्न पाउँछन् । त्यस्तै, दुईवटा ड्राइभर, दुईवटा कार्यालय सहयोगी राख्न पाउँछन् । गार्डघरको सुविधासमेत पाउँछन् । त्यसैले संसदीय समितिको सभापति बन्न पूर्वमन्त्रीहरु समेत तयार हुने गरेका छन् । विगतमा समितिका सभापतिलाई गृह मन्त्रालयले व्यक्तिगत सुरक्षाकर्र्र्मीसमेत उपलब्ध गराएको थियो ।

यसैगरी, सोमबार सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरण समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे, महिलासमितिमा एमालेका किरण साह, लेखा समितिमा ऋषिकेश पोखरेल, कानुन न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, स्वास्थ्य तथा शिक्षा समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव र उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*