मकवानपुरका सबै पालिकामा जनतासँग माओवादी अभियान सुरु
हेटौंडा-नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी विशेष रुपान्तरण तीन महिने अभियान मकवानपुरको १० वटै स्थानीय तहमा सुरु भएको छ ।हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकामा अभियान शनिवारबाट एकसाथ सुरु गरिएको माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए । हेटौंडाको १९ वटै वडामा विविध कार्यक्रम गरी अभियान सुरुवातगरिएको छ । हेटौंडा–१ मा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष स्वस्तिक राजथलाको अध्यक्षतामा भएको थियो ।
हेटौंडा–२ मा शहीद परिवारलाई सम्मान र ओम बृद्धाश्रमलाई नगद पाँच हजार सहयोग गरिएको छ ।शहीद चिन्तामणि तिमल्सिनाको माता बालकुमारी र पिता ठाकुरप्रसाद तिमल्सिनालाई पार्टीका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका अभियान संयोजक रत्न ढकालले सम्मानपत्रसहित सम्मानित गरेका थिए । हेटौंडा–३ मा सहीद परिवारलाई भेटघाट गरी जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य प्रकाश थोकरको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष भीमलाल सिन्तानको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पार्टीका हेटौंडा नगरसदस्य हेमन्त रुम्बा, सहीद परिवारका सदस्यहरुले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडा–४ मा अनाथ बालकहरु आश्रित आमसाई विद्यालयलाई चामल, दाल, सोयाबिन, आलु, नुन र तेललगायत खाद्यान्न सहयोग गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्यहरु रिनेशकुमार श्रेष्ठ,बेलीकुमारी दोङ र जंगबहादुर विश्वकर्माको आतिथ्य रहेको थियो । हेटौंडा–५ को ढु·ेधारा पर्यटकीय क्षेत्रमा बरपिपल, छतिवन लगायत विरुवारोपण गरिएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष देवनारायण लामिछाने ‘भीमसेन’को अध्यक्षतामा भएको थियो ।
यसैगरी, जनतासँग माओवादी विशेष रुपान्तरण अभियान बकैया गाउँपालिकाको सम्पूर्ण वडामा सुरु भएको छ । अभियान अन्तर्गत बकैया–१ मा श्रमशिविर सञ्चालन गरिएको छ । अभियान १ नं वडाका कमाण्डर लोकनाथ गौतमको नेतृत्वमा रजुवादेखि चिसापानीसम्म अबरुद्ध रहेको सडकखण्ड मर्मत तथा नाली सरसफाई गरिएको हो । त्यस्तै, बकैया–२ मा प्राकृतिक स्रोतसाधनमा जनताको अग्राधिकार एवम् युरेनियम रक्षाको सवालमा अन्तरक्रियागरिएको छ । माओवादी केन्द्र बकैयाका सचिव विमल नेपालको कमाण्डमा भएको अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, स्थानीयबासी सहभागी थिए ।
यस्तै, अभियान अन्तर्गत थाहानगरको १२ वटै वडामा सुरु भएको छ । थाहा–१ मा जनबर्गीय मोर्चा, वडा कमिटी र जनप्रतिनिधि बीच अन्तरक्रिया गरिएको छ । वडा नं. २ मा राजनीतिक प्रशिक्षण गरी अभियानको सुरुवात गरिएको छ । वडा न ३ र ४ मा जेष्ठ नागरिकलाई सम्मान र न्यानो कपडा वितरण गरी अभियान सुरुवात गरियो भने वडा नं. ५ मा सहीद परिवार भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ ।
वडा नं. ६ मा अन्तरक्रिया, वडा नं. ७ मा जेष्ठ नागरिक र सहीद परिवारलाई सम्मान, ८ मा सहीद परिवार भेटघाट गरिएको छ । वडा नं. ९ मा बिभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरियो । वडा नं. १० मा सरसफाइ र जेष्ठ नागरिक सम्मान गरी अभियान सुरुवात गरिएको बताइएको छ । थाहा–११ मा जेष्ठ नागरिक सम्मान र १२ नं. वडामा युवासँग अन्तरक्रिया गरी अभियानको सुरुवात गरिएको थाहानगर अध्यक्ष बिनोदकुमार लामाले जानकारी दिएका छन् ।







