प्रदेश प्रहरी हेटौंडाका तीनवटा कुकुर सेवानिवृत्त
हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा अपराध अनुसन्धानमा सहयोगी भूमिका निभाउँदै आएका तीन वटा कुकुर सेवानिवृत्त भएका छन् ।
प्रदेश प्रहरीमा विगत ९ वर्षदेखि सेवामा रहेका तीन कुकुर बुधबारबाट सेवानिवृत्त भएका हुन् । लागूऔषध, विस्फोटकपदार्थ, हत्यासम्बन्धी अनुसन्धान गर्दै आएका शेरे, टाइगर र जोन नामका कुकुर सेवाबाट निवृत्त भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । तीन कुकुर प्रहरी सेवा पूरा गरी प्रहरीका कुकुरहरुको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन–२०८० बमोजिम सेवानिवृत्त भएका हुन् । कुकुरको क्षमतामा ह्रास आएपछि सेवाबाट हटाउने नियम प्रहरीभित्र छ । कुकुरको उमेरहद तोक्ने नगरेकोले क्षमताको आधारमा सेवामा राख्ने वा नराख्ने गरिन्छ ।
सेवानिवृत्त भएपछि पालनपोषणको जिम्मेवारी सम्बन्धित संघसंगठनकै हुन्छ । प्रदेश प्रहरीका अनुसार शेरे ल्याब्रोडर हो भने टाइगर र जोन जर्मन सेफर्ड हुन् । व्यवहारिक परीक्षा लिँदा क्षमता प्रदर्शन गर्न नसकेकाले रिटायर्ड गरिएको जनाइएको छ । कुकुरलाई गन्धका आधारमा खोजी र दौडका अभ्यास गराउँदा आवश्यक क्षमता देखाउन नसकेपछि सेवाबाट हटाउने गरिएको छ । जोन र शेरेले आफ्नो सेवाअवधिमा १ हजार २ सयपटक लागूऔषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाइगरले सुरक्षाका लागि ७ सय पटक विशिष्ट व्यक्तिहरुको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ ।
अवकाशप्राप्त यी तीन कुकुर उमेरले ९ वर्षका मात्र भए । सामान्यतया कुकुरको उमेर १५ वर्षको हुनेगर्छ । यी कुकुरलाई जन्मेको ६ महिनामा तालिम दिने गरिन्छ । तालिम अवधि चार महिनादेखि १० महिनासम्मको हुन्छ । बागमती प्रदेश प्रहरीमातहत अहिले ६ वटा कुकुर रहेका छन् । जसमध्ये ४ वटा प्रहरीसेवामा कार्यरत छन् । २ वटा कुकुरले तालिम लिइरहेको जनाइएको छ । सेवानिवृत्त भएका र कार्यरत कुकुर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट ल्याइएको थियो । सेवाबाट हटाइएका कुकुरलाई इच्छाअनुसार क्रमशः सम्बन्धित दाता, बहालवाला प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र सर्वसाधारणलाई प्राथमिकताका आधार दिन सकिने पनि नियम छ ।
गत मंसिर २५ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेमा २८ वर्र्षीया महिलालाई घरमा हत्या गरेर बारीमा गाडेको अवस्थामा सेरे र जोनले अपराधी पत्ता लगाएका थिए ।यसैगरी गत चैतमा रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली लेसेखानीमा खुकुरी प्रहारबाट ८२ वर्र्षीय शमशेर बहादुरको हत्या भएको थियो । सो घटनाको अपराधी पत्ता लगाउन यिनै कुकुरले महत्वपूर्ण भूमिका खेलेका थिए । बागमती प्रदेशअन्तर्गत जिल्लामा भएका जघन्य प्रकृतिका शंकास्पद घटनाहरुमा अपराधीको पहिचान गरी अनुसन्धान गर्नमा कुकुरहरुको उत्कृष्ट भूमिका रहेको प्रदेश प्रहरीका एसपी दीपक रेग्मीले बताए ।







