भीमफेदी कारागारका १४ कैदी थुनामुक्त, मकवानपुरका ८ जना
हेटौंडा- संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदीमा रहेको कारागारमा कैदीबन्दी जीवन बिताइरहेका मकवानपुरका ८ सहित १४ जना कैदी थुनामुक्त भएका छन् ।बुधबार संविधान दिवसको अवसरमा सरकारले देशभरका ६७० जनाको कैद मिनाहा गरेसँग कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १४ जना कैदी थुनामुक्त भएको कारागारका प्रमुख तीर्थराज पौडेलले बताएका छन् । कारागारमा कैदी जीवन बिताइरहेका र हिजो मंगलबारसम्ममा तोकिएको सजायमा ५० र ४० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएको पौडेलले बताए ।
बुधवार थुनामुक्त हुनेमा ठगी मुद्दामा सजाय काटिरहेका मकवानपुरको हेटौंडा–११ का पूर्णभक्त लामा, डाँका मुद्दामा कैद भुक्तान गरिरहेको मकवानपुरगढी–८ का प्रेमबहादुर स्याङ्तान, नकावजनी मुद्दामा कैद भुक्तान गरिरहेका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमानसिं भोलन रहेका छन् ।
यसैगरी, खुन–डाँका मुद्दामा सजाय काटिरहेका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपाली र कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका तनहुँको भानु नगरपालिका–६ का सुकबहादुर नेपाली, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का पनि कैदमुक्त भएका हुन् ।
नकावजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापामगर, सोही मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेका छन् भने चोरी मुद्दामा सजाय भुक्ता गरिरहेका काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ का संजितबहादुर बाग्दास रहेका छन् । कैद भुक्तान गरी कैदमुक्त हुनेमा मकवानपुरका ८ जना र भारतका एकजना रहेका छन् ।







