हेटौंडामा नयाँ उद्यमशीलता खोज्न ‘बुटक्याम्प’
हेटौंडा- उद्योग संघ हेटौंडाको आयोजनामा आइतबारबाट ‘एम स्टार्टअप बिजनेस इन्क्युबेशन सेन्टर’ तथा पाँच दिने नवउद्यमशाला बुटक्याम्पको सुरु भएको छ ।क्याम्पको आइतबार बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका छन् । युवा उद्यमीलाई स्टार्ट–अपका रुपमा आफ्ना व्यावसायिक विचारहरु परीक्षण गर्ने अवसर प्रदान गर्न यस कार्यको सुरुवात गरिएको उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए । प्रारम्भिक चरणमा सेन्टरले युवा उद्यमीलाई कार्यस्थल, लजिस्टिक सपोर्ट, प्रदर्शनीमार्फत अवधारणा परीक्षण, मेन्टर र अनुझवीद्वारा मार्गदर्शन, सरकारी निकाय र शिक्षाविद्हरुसित अन्तरक्रिया, वित्तीय संस्थासँग जोडिने अवसरहरु र इच्छुक व्यक्तिहरुको लगानी उपलब्ध गराएर स्टार्टअप कार्यक्रम सञ्चालन गर्नेछ ।
एआईएम स्टार्ट–अपले जिल्लामा शैक्षिक, सरकारी र निजी क्षेत्रबीच एक इकोसिस्टम निर्माण गरी दिगोरुपमा स्टार्टअप र नवप्रवर्तन कार्यक्रम लागू गर्न उपयुक्त संस्थागत संरचना स्थापना गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने दावी गरिएको छ । यस कार्यक्रमको पहिलो चरण अन्तर्गत युवा उद्यमीहरु (व्यवसाय दर्ता गरेको ५ वर्ष नकटेको) चयन गरी आयोजना गर्न लागिएको ५ दिने ‘एम नव उद्यमशाला बुटक्याम्प’को सहभागिता रहेको छ । बुटक्याम्पमा चयन भएका उद्यमीहरुले ४ दिनसम्म व्यवसायसँग सम्बन्धित विभिन्न बिषयमा छलफल गर्नुका साथै विज्ञहरुसँग गहन रुपमा मन्थन गरी आफ्नो व्यवसायलाई परिस्कृत बनाउने अवसर प्राप्त गर्ने छन् ।
पाँचौ दिनमा आयोजना गरिने हाट बजारमार्फत व्यवसायीहरुले आफ्नो व्यवसायको परीक्षण गर्नुका साथै सम्भावित ग्राहक, लगानीकर्ता तथा मेन्टरसँग जोडिने मौका पनि पाउने छन् । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले समृद्धिको यात्रालाई ठिक ढंगबाट अगाडि बढाउन सके उद्योग क्षेत्रमा प्रोत्साहन मिल्ने बताए । चित्रकारले बागमती प्रदेश सरकार नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याउने तयारीमा रहेको बताए । मन्त्रालयले विभिन्न ऐन तथा नीतिहरु बनाउने तयारी रहेको बताउँदै उनले हस्तकला, बजार अनुगमन, व्यवस्थित निर्देशिका, कार्यविधिहरु आगामी मन्त्रीपरिषद्को बैठकबाट निर्णय गर्ने तयारीमा रहेको बताए ।
उनले रोजगारी सिर्जना नगर्दा अर्थतन्त्र उभो लाग्न नसकेको बताउँदै उद्योगीलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने बाटोमा प्रदेश सरकारको चासो चिन्ता रहेको
बताए । दिनप्रतिदिन खस्किएको उद्योग व्यवसायलाई प्राथमिकतामा राख्न नसके उद्योगहरु धरासायी हुने र व्यवसायी पलायन हुने अवस्था आउन सक्ने भन्दै उनले प्रदेश सरकारबाट पनि स्पष्ट नीति दिन नसक्दा व्यवसायीको लगानी सुरक्षित नभएको प्रष्ट पारे ।
मन्त्री चित्रकारले नवउद्यमीलाई प्रोत्साहन गर्न मन्त्रालय तयार रहेको बताउँदै पहिलो लक्ष्य रोजगारी सिर्जना गर्नु र यसका लागि प्रदेश सरकार एजेन्सीको रुपमा रहन समेत तयार रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामा, उद्योग संघका पूर्वअध्यक्ष लेखराज पोखरेल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलगायतले उद्यमशीलता मेलाबाट दक्ष उद्यमी उत्पादनमा सहयोग पुग्ने विश्वास दिलाए ।







