प्रदेशसभा पुगेर हेटौंडा अस्पताल अलग्याउने माग
हेटौंडा- बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताल प्रतिष्ठानबाट अलग्याएर पुरानै अवस्थामा ल्याउन मन्त्री र सांसदहरुलाई ध्यानाकर्षण गराइएको छ ।जिल्लास्थित चार राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरुले अस्पताललाई प्रतिष्ठानबाट अलग्याएर संघीयसरकार मातहतमै लैजान मन्त्री तथा सांसदको ध्यानाकर्षण गराएकाहुन् । हेटौंडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतबाट हटाएर संघीय सरकार मातहत नै राख्न आग्रह गर्दै उनीहरुलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आइतबार प्रदेशसभा वैठक अगाडि मन्त्री र सांसदलाई प्रदेशसभा परिसरमै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन संशोधनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए ।प्रतिष्ठानको आफ्नै अस्पताल नबनुन्जेलसम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने व्यवस्था गर्दै हालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐनलाई विस्थापित गर्न जरुरी रहेको उनले बताए ।
‘दुबैको फरकफरक लक्ष्य र उद्देश्य रहेका छन् । प्रतिष्ठानले छिट्टै आफ्नो अस्पताल बनाउन जरुरी छ ।’, महतले भने । पत्रमा महत सहित नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रीन, नेकपा एस मकवानपुरका सचिव ध्रुव भुजेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । टोलीले लामो समयदेखि यस विषयमा प्रदेशसरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ ।







