संसदमा बर्तौला र सापकोटाको जुहारी

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार १०:०२

हेटौंडा- प्रतिनिधिसभाको बिहीवारको बैठकमा एमाले र माओवादी सांसदको दोहोरी चलेको छ । १६ असोजमा प्रतिनिधिसभा बैठकमा बोलेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माओलीको कुरालाई लिएर दुई सांसदबीच जुहारी नै चलेको हो ।बिहीबारको बैठकमा एमाले संसदीय दलका सचेतक समेत रहेका मकवानपुरका सांसद महेशकुमार बर्तौलाले उनीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले दिएको अभिव्यक्तिको खण्डन गरे । बर्तौलाले अध्यक्ष ओलीले यो देशका समस्या, ज्वलन्त मुद्दाहरु, जनताले भोगेका समस्यालाई विभिन्न कोणबाट राखेको बताए । बर्तौलाले भने– ‘उहाँले केही समय लिएरै सिंगो देशलाई सदनमार्फत विषयवस्तुहरु अवगत गराउनुभयो । उहाँले बोलिसकेपश्चात कतिपय सत्तापक्षका माननीयज्यूहरुले असाध्यै रुखो टिप्पणी गर्नुभयो । अत्यन्तै तितो र नकारात्मक द्वेषपूर्ण, आग्रहपूर्ण टिप्पणीहरु गर्नुभयो । आज पनि त्यो दोहो¥याउनुभयो ।’, उलले भने ।

महेशले थपे, ‘सत्तापक्षका सांसदहरुले दुईदुई घण्टा बोल्ने, तथ्यहीन कुराहरु बोल्ने ? यसप्रकारले प्रश्नहरु सिर्जना गरेर जनतालाई एक प्रकारले ढाँटको खेतीतर्फ लानका लागि यो सदनको गरिमामय बैठकलाई त्यसप्रकारले दुरुपयोग गर्न खोजेको हो कि भन्ने हामीलाई भान भएको छ ।’, सांसद बर्तौलाले अध्यक्ष ओलीले संसदमा तथ्यहीन कुरा, संविधान विरोधी कुरा के बताउनुभयो भन्दै प्रश्न गरे । ओलीले सरकारका कारणले गर्दा देश बरबादीतिर गइरहेको, सरकारका कारण देशमा आज साम्प्रदायिक द्वन्द्व भड्किएको, नेपालगञ्ज, धरानमा साम्प्रदायिक द्वन्द्व भड्कनुको कारण सरकार रहेको बताएको उल्लेख गरे ।उनले भने– ‘सरकारलाई खबरदारी गर्नुभयो यहाँबाट, सरकारलाई होसियारीपूर्वक काम गर्न सचेत गराउनुभयो ।

यो आग्रह प्रेरित हो ? यो तथ्यहीन हो ? आज सरकारले आज दिनदहाडै खुँडा प्रहार गरेर हिँड्ने आजीवन कारावासको सजाय भएका व्यक्तिलाई संविधान दिवसको दिन संविधानलाई च्यातेर आम माफी दिने काम ग¥यो । यो तथ्यहीन कुरा हो ? आज विभिन्न समाजमा धार्मिक युद्ध गराएर मुलुकलाई अगाडि बढाउने प्रयत्न भइरहेको छ । सचेत गराउँदा यो कुरा बेठीक हो ?’, सांसद बर्तौलाले महँगीले आकाश छोएको, डाक्टर कुटिएको, अराजकता मौलाएको, दण्डहीनता बढेका विषय उठाउनु तथ्यहीन हो भन्दै प्रश्न गरे ।

सांसद माधव सापकोटाले के भनेका थिए ?
सांसद बर्तौला भन्दा अगाडि बोलेका माओवादी केन्द्रका सांसद सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीले विस्तृत शान्ति सम्झौता विपरित र संविधानको मर्म विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।अघिल्लो बैठकमा ओलीले घण्टौँ लामो भाषण गरे पनि देशमा भइरहेको अराजकतालाई रोक्नेबारे कुनै सम्बोधन नगरेको बताएका थिए । भाषणमा अराजकतालाई नियन्त्रण गर्ने सन्देश नआउने तर, विस्तृत शान्तिसम्झौता र संविधानको मर्म विपरितको अभिव्यक्ति आएको सापकोटाले बताएका थिए । उनले भनेका थिए, ‘पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेताले सदनमा घण्टौँ लामो भाषण गर्नुभयो । एकपटक उहाँले अध्यक्षता गरेकै केन्द्रीय समितिको बैठकमा बसेर काम गरेँ, उहाँप्रति सम्मान छ, उहाँ मेरो नेता हो । तर, उहाँले बोलेका केही कुराहरु निकै गम्भीर छन् । उहाँलाई २०६३ साल मङ्सिर १५ गते माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतालाई सम्झाउन चाहन्छु ।’,

सांसद सापकोटाले विस्तृत शान्तिसम्झौतामा सरकार र माओवादीबीच द्वन्द्व अन्त्य गर्दै संविधानसभाद्वारा संविधान जारी गर्ने विषयमा भएको सम्झौतालाई स्मरण गराउँदै सो विषय सजिलै भुल्न मिल्छ ? भन्दै प्रश्न गरे । वेटिङ गर्भमेन्टको रुपमा प्रमुख प्रतिपक्ष दल रहेको र वेटिङ प्रधानमन्त्रीको रुपमा प्रमुख प्रतिपक्षी दलको नेताले विस्तृत शान्तिसम्झौताको विपरित अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाइतेहरुले शरीरमा गोली बोकेर सडकमा आन्दोलन गर भन्न खोजेको हो ? भन्दै प्रश्न गरेका थिए ।उनले २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा पार्टीले निर्वाचन आयोगलाई बुझाएको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले थालेको जनयुद्धले दिएको उपलब्धि उल्लेख गरिएको बताउँदै प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका कुराहरु औपचारिक संस्थागत रुपमा व्यवस्था गरिएका कुराहरुको
विपरित छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । साथै, उनले ओलीले दिएको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको बताउँदै प्रमुख प्रतिपक्षी दलले त्यसबारेमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका थिए । मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा ओलीले २ घण्टा लामो सम्बोधन गर्दै सरकारको आलोचना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*