एमाले मकवानपुरको अधिवेशन माघ महिनाभित्र

हेटौंडा- नेकपा (एमाले) मकवानपुरको जिल्ला र पालिका तहको अधिवेशन माघ महिनाभित्र गरिसक्नुपर्ने भएको छ ।एमालेले माघ महिनाभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेसँगै मकवानपुरमा अधिवेशन हुने निश्चित भएको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सकाएको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको ढुंगेलले बताए ।
मकवानपुरमा भने २०८० भित्रै अधिवेशन हुने संकेत देखिएपछि विगतदेखि नै चहलपहल बढिरहेको छ । अध्यक्ष, सचिवलगायत पदाधिकारीका सम्भावित उम्मेदवारहरुले विगतदेखि नै लबिङ गरिरहेका थिए । अधिवेशन माघ महिनाभित्रै गर्नुपर्ने पार्टीले निर्णय गरेपछि मकवानपुर एमालेमा अधिवेशनको सरगर्मीबढ्ने निश्चित छ । हाल एमाले मकवानपुरको अध्यक्ष एकालाल श्रेष्ठ र सचिव नविन सिग्देल छन् । पार्टीको यसअघिको निर्णयले जनप्रतिनिधि अध्यक्ष वा सचिवमा उम्मेदवार हुन नपाउने भएपछि अध्यक्षका श्रेष्ठ र सचिवसमा सिग्देल दोहोरिने सम्भावना न्यून छ ।
एमाले मकवानपुरको वर्तमान पदाधिकारीमा अध्यक्ष श्रेष्ठ, सचिव सिग्देल, उपसचिव हिदम लामा जनप्रतिनिधि छन् । एमाले मकवानपुरले जनप्रतिनिधि बाहिरबाटै नेतृत्व चयन गर्नेछ । अध्यक्षमा श्रीधर पोख्रेल, वर्तमान उपाध्यक्ष लालबहादुर थापालगायतका नेताहरु सम्भावित उम्मेदवार हुन सक्नेछन् । एमाले मकवानपुरको नेतृत्व चयनमा निर्वाचन हुने सम्भावना बढी रहेको एक नेताले बताए । ‘प्रदेश अधिवेशनको सन्देशबाटै देखिन्छ कि निर्वाचन हुनेछ, नेतृत्वको आकांक्षी धेरै हुनेछन्, मकवानपुरमा पनि दुई धार निश्चित छ, त्यसैले निर्वाचन हुँदैन भन्न सकिँदैन, कार्यकर्ताले निर्वाचन नै खोजेका छन् ।’, एक नेताले भने ।
यसैगरी, पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको संगठन विभागका सचिव ढुंगेलले जानकारी दिए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरुको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्र्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
यस्तै, साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुंगेलले बताए । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउनेछन् । यसैगरी, पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको ढुंगेलले जानकारी दिए ।