कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल नियुक्त

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:५३

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् ।रिक्त रहेको सचेतक पदमा संसदीय दलका नेता बहादुरसिं लामाले लम्साललाई नियुक्त गरेका हुन् । लम्साललाई सचेतकमा १ असोजमा नियुक्त गरिए पनि सार्वजनिक भने गरिएको थिएन । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लम्साललाई नियुक्त गरिएको हो । गत पुसमा संसदीय दलको नेतामा निर्वाचित भएसँगै लामाले दोलखाबाट निर्वाचित सांसद कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए ।

करिब २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा काफ्लेले जिम्मेवारी सम्हालेका थिए । उक्त समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो । सरकारको नेतृत्व माओवादी केन्द्रलाई सुम्पिएको कांग्रेसले सतापक्ष दलको मुख्य सचेतक समेत गुमाएको थियो ।

सत्तापक्ष भएसँगै कांग्रेसका काफ्लेले पाएको प्रमुख सचेतकको सेवा सुविधासहित माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालको पोल्टामा परेको थियो ।कांग्रेस सांसद् काफ्ले सचेतकको जिम्मेवारीमा झरेपछि उनले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिएका थिए । काफ्लेको राजीनामा पछि उक्त पद रिक्त थियो । लम्साल २०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद् हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*