पिप्लेक्याम्पा रंगशालामा आजदेखि च्यालेन्ज कप फुटबल

हेटौंडा- हेटौंडामा पहिलो यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आज मंगलबारबाट सुरु हुँदैछ ।एफसी मुण्डियाल हेटौंडाको आयोजनामा स्व. सुदर्शन घिमिरे स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको मुण्डियालका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए ।मुण्डियालद्वारा सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा बारा जिल्लाको सिमरास्थित नवजनजागृति युवा क्लब र हेटौंडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबबीच खेल हुने तय भएको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते बुधबार हुने तालिका छ ।
‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ उमेर समूहको प्रतियोगितामा सर्वाधिक राशी सहितको फुटबल हुन लागेको आयोजक मुण्डियालका अध्यक्ष घिमिरेले जानकारी दिए । मकवानपुरका युवा खेलाडी लक्षित प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिन लागिएको कार्यक्रम संयोजक सुदीपसिं ठकुरीले बताए । प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्ला ११ वटा टिमसहित १४ वटाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्ने जनाइएको छ ।
विधागत पुरस्कारतर्फ पाँच जना उत्कृष्ट खेलाडीले जनही पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ दी म्याचमा प्रत्येकले २ हजार ५ सय प्राप्त गर्ने एफसी मुण्डियालका अध्यक्ष घिमिरेले बताए । प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नवजागृति युवा क्लब सिमरा, वीरगञ्ज स्पोटर्स पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निलगगन युवा क्लब हेटौंडा, सहिदस्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र आयोजक एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।