बागमती प्रदेशको क्रिकेट टिममा मकवानपुरका चारजना
हेटौंडा-पोखरामा हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता खेल्ने बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका चारजना खेलाडी छनोटमा परेका छन् ।सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशको टोली घोषणा हुँदा मकवानपुरका दुई बलर र दुई ब्याट्सम्यान अटाएका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी–२० क्रिकेट हुँदैछ । जसका लागि बागमतीले लेगस्पीनर सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो । बागमतीले यसअघि २७ खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसैबाट अन्तिम टोली घोषणा गरेको हो ।
टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी पनि छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठ पनि बागमतीको टिममा छन् । उमेर समूहको कप्तानी गरिसकेका रित गौतम पनि टिममा छन् । बागमतीको टिममा सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी, दिपेश श्रेष्ठ रहेका छन्।
टिम तयार पार्नुअघि बोलाइएको क्याम्पसबाट मकवानपुरबाट ५ जना खेलाडी सूचिमा परेका थिए । जसमध्ये एकजना वैकल्पिक खेलाडीको सूचिमा छन् । बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका रामनरेश गिरी (बलर), रिजन ढकाल (बलर), सुभ कंसाकार (ब्याटस्म्यान) र गौरव खड्का (विकेट किपर र ब्याटस्म्यान) अटाएका हुन् । वैकल्पिकमा सुमन सुनार रहेको मकवानपुर क्रिकेट संघका सचिव तथा एम्पायर विनोद बानियाँले जानकारी दिए । टिममा परेका चार जनासहित वैकल्पि खेलाडी सुनार सबै हेटौंडा उपमहानगरपालिकाबासी हुन् ।
प्रतियोगिता सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टोली गरी कूल १२ टोलीको सहभागिता रहने छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । बागमती र कर्णाली प्रदेशसँगै मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ‘ए’ मा छन् । बागमती र आयोजकको रातो टोलीबीच मंसिर ७ गते उद्घाटन खेल हुनेछ । यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह ‘बी’ मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह ‘सी’ तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह ‘डी’ मा छन् ।
हरेक समूहको समूह विजेता मात्र सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘डी’ को विजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘सी’ को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।







