कांग्रेस मकवानपुर जनतासँग साक्षात्कार गर्न गाउँ छिर्दै

साझाकुरा
२०८० माघ १५, सोमबार १२:४८

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए ।यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस अवधिमा समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवाप्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको लामाले बताए । अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी मकवानपुर आइसकेका छन् ।

मकवानपुरको १०२ वटै वडामा पुग्नका लागि प्रतिनिधि तोकिएको छ । आइतबार कांग्रेस मकवानपुरले विस्तारित बैठक बोलाई पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु तथा समग्र कार्यकर्तालाई अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेको छ । पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवम् सदस्य, विभिन्न भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभर भइरहेको लामाले बताए ।

अभियानका क्रममा खटाइएका प्रतिनिधि जिल्ला तथा वडास्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । अभियानका क्रममा वडावासीसँग खुल्ला छलफल गरी तीनवटै तहका सरकारसँगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइने महतले बताए ।

अभियानकै क्रममा स्थानीय तहले गरिरहेका सेवाप्रवाह, स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य सेवाकेन्द्र, विद्यालय, विकास निर्माण आयोजना, समुदाय र निजी क्षेत्रको प्रयासमा भएका कामलगायतको अवलोकन गरी सेवाप्रवाहको अवस्था बुझ्नुको साथै त्यसको अवस्था र समस्या समाधानको पहल गरिने सचिव महतले बताए । अभियान कांग्रेका स्वर्गीय नेता सुशील कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते समापन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*