एमालेका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:४२

हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नवनिर्वाचित कमिटीले सोमबार सपथग्रहण गरेको छ । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट नयाँ कमिटी चयन भएको थियो ।नवनिर्वाचित कमिटीलाई एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले पद तथा गोपनीयताको सपथ गराएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सदभावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उपाध्यक्ष पोखरेलले भने, ‘एमाले सधैं राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैं दृढ रहने छौँ,’।

पोखरेलले एमाले भारत विरोधी नभएको बताए । भारत सँगको सम्बन्धलाई व्यवस्थित बनाउने पक्षमा एमाले रहेको उनको भनाई छ । विगतमा भारतसँग भएको अपमानजनक र असमान सन्धिहरु परिवर्तन गर्नुपर्ने उनको जोड थियो । उनले एमाले बाहेक अरु कुनै पनि राजनीतिक दलले राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न नसक्ने समेत दाबी गरे । राजनीतिक अस्थिरताको कारणले देश बर्बाद भएको उनको जिकिर छ ।

नेपालको सन्दर्भमा एमाले बाहेक अरु राजनीतिक दलले बहुमत ल्याउनै नसक्ने ठोकुवा समेत पोख्रेलले गरेका छन् । विचारमा स्पष्टता भए मात्र पार्टी बन्ने बताउँदै पोख्रेलले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भातृसंगठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।एमाले मकवानपुरको यही जेठ १८–२० गते हेटौंडामा १२ औं अधिवेशन सम्पन्न भएको थियो । १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, उपसचिव फुर्वादोर्जे लामा, आरती पाठकलगायत सबै सदस्यलाई सपथग्रहण गराइएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवी ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*