मनोरञ्जन कर तिर्न बागमती सरकारको आह्वान

साझाकुरा
२०८१ असार १३, बुधबार १०:१९

हेटौंडा- बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृतिअनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्नुपर्ने औंल्याएका हुन् ।गत जेठमा रात्रिकालीन व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई भार पर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए । रात्रिकालीन व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा सम्पूर्ण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै करको भारी नबोकाउन अनुरोध गरेका थिए ।

‘व्यवसायीले आफ्ना ग्राहकलाई टिकटको माध्यमबाट मनोरञ्जन प्रदान गरिरहेकाले सोही मूल्यको केही प्रतिशत प्रदेश सरकारलाई मनोरञ्जन कर बुझाउनु पर्छ’, प्रवक्ता रिमालले भने, ‘स्थानीय तहले पुरानो आर्थिक नियमावलीको आधारमा उठाएकाले सोहीअनुसार लिएको हुनसक्छ । आगामी वर्षदेखि नयाँ दरमा मनोरञ्जन कर तिर्नुपर्छ । करको दर परिमार्जन गरिएको छ,’ ।व्यवसायीले स्वेच्छाले तोकेको टिकट मूल्यअनुसार त्यसको पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने रिमालले उल्लेख गरे । प्रदेश सरकारले व्यवसायीलाई टिकटको मूल्य यति हुने भनेर बाध्यकारी नीति लागू नगरिएको उनको भनाइ छ । बिलमा तोकेको मूल्य भएमा सोहीअनुसार मनोरञ्जन कर दाखिला गर्नुपर्ने रिमालको भनाइ छ ।व्यवसायीलाई मनोरञ्जन करमा ५ प्रतिशतले मर्का परेकाले निश्चित मूल्यसहितको दरभाउ तोकिएको उनले बताए । वर्षभरि कारोबार गरेको आधारमा कर तिर्ने वा टिकटको मूल्यको आधारमा कर तिर्ने भन्नेमा व्यवसायीमा अन्योल भएकाले यस वर्षदेखि परिमार्जन गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*