मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

साझाकुरा
२०८१ असार २७, बुधबार १२:११

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन आग्रह गरेको छ ।मंगलबार दलका नेतासमेत रहेका बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी गरेर राजीनामा दिन आग्रह गरेका हुन् । ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ (पाँच) जना मन्त्रीहरुले हिजो (सोमबार) माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं,’ थपलियाले भने । साथै, बागमती प्रदेश सरकारलाई दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत एमालेले आग्रह गरेको छ । तर, राजनीतिक नियुक्तिहरु धमाधम भइरहेको छ ।

कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ । केन्द्रीय सत्तासमिकरणअनुसार अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । एमाले र कांग्रेसको प्रदेशसभामा ६४ सांसदसहितको स्पष्ट बहुमत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*