मकवानपुरगढीले जित्यो मनहरी कप फुटबलको उपाधि
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरढीले दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगितामा उपाधि जितेको छ ।सोमबार मनहरी गाउँपालिका–४ मसिनेको गोलघर खेलमैदानमा भएको फाइनल खेलमा हेटौंडा–१९ को एफसी परेलीलाई १–० गोलअन्तरले पराजित गरी जेसीआई मकवानपुरगढीले च्याम्पियनसिप प्राप्त गरेको हो ।
प्रतियोगितामा विजेता टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एफसी परेलीले ५१ हजार एक सय ५१ रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेको छ । खेलको निर्णायक गोल गणेश हमालले दोस्रो हाफको २५ औं मिनेटमा गरेका थिए ।प्रतियोगितामा १६ वटा टोलीले भाग लिएका थिए ।
जेसीआई मकवानपुरगढीले शुक्रबार एफसी नमोबुद्धलाई २–१ गोलअन्तरले हराएर फाइनलमा प्रवेश गरेको थियो भने एफसी परेलीले शनिबार मनहरी–५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो । पुरस्कार वितरण समारोह चैनपूर जेसीजका अध्यक्ष रवीन ढकालको सभाध्यक्षतामा र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।







