हेटौंडा–१२ को उपनिर्वाचनबाट दुईजनाले फिर्ता लिए उम्मेदवारी

साझाकुरा
२०८१ मंसिर ६, बिहीबार ११:२७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका दुईजनाले फिर्ता लिएका छन् ।१६ मंसिरमा हेटौंडा–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जनामध्ये दुईजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिएकी छन् । उम्मेदवारी फिर्तासंगै अब यो वडाको अध्यक्ष पदमा १२ जनाको उम्मेदवारी कायम भएको छ ।उम्मेदवारी फिर्ता लिनेहरुमा युनेश लामा स्याङ्तान र कुमार पोखरेल रहेका छन् । उनीहरु दुबै जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

वडाअध्यक्ष पदका लागि नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाका आशावीर बल, नेकपा (एकीकृत समाजवादी)बाट बलराम बल, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, जसपा नेपालबाट छविलाल वाइबा र मंगोल नेशनल अर्गनाइजेसनबाट दीपा लामाको उम्मेदवारी दर्ता भएको थियो ।राप्रपाबाट प्रेमबहादुर भ्लोनसहित ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र उम्मेदवारी दिनेमा छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोख्रेल, युनेश लामा सिंन्तान र अर्जुन घलान थिए । १४ जनाको उम्मेदवारी परेकोमा वडाअध्यक्षका लागि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बीचमा रोचक त्रिपक्षीय भिडन्त पक्का छ ।

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षमा विजयी माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । घलान २०७४ मा पनि वडाअध्यक्षमा विजयी भएका थिए । हाल उम्मेदवार बनेका नगरकोटी र तिवारी ३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि उठेका थिए । जसमा तिवारी दोस्रो र नगरकोटी तेस्रो भएका थिए ।

कांग्रेसका तिवारीले ०७४ को निर्वाचनमा घलानसँग नै पराजय भोगेका थिए ।दोस्रोपटक लडिरहेका नगरकोटी र तेस्रोपटक चुनावमा होमिएका तिवारीका लागि यो निर्वाचन जसरी पनि जित्नुपर्नेछ । तिवारी कांग्रेस जिल्ला सदस्य र नगरकोटी एमाले निकट युवा संघको जिल्ला अध्यक्ष हुन् । माओवादीलाई गुमेको वडाअध्यक्ष फिर्ता गर्ने चुनौतीका लागि, एमालेलाई साख जोगाइराख्ने र कांग्रेसलाई पहिलोपटक जितको झण्डा गाड्ने अबसरका रुपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*